२०८३ वैशाख ६ , आइतबार
नेता छान्दै नेकपा

दलको नेता बन्न ५ जनाको दाबी



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता छान्ने तयारी गरेको छ । अबको २४ घण्टाभित्र नेता चयन गर्नेगरी गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ । ‘सकेसम्म २४ घण्टाभित्र दलको नेता चयन गरी सक्ने तयारीमा छौँ’ नेकपा स्रोतले भन्यो, ‘दलको नेता बन्न इच्छुक साथीहरुबीच सहमति भयो भने शनिबार नै नेता छान्छौँ ।’


नेकपाले दिएको जानकारी अनुसार दलको नेता बन्न कृष्ण बहादुर जिसी, विन्दमान विष्ट, महेन्द्र केसी, रणसिंह परियार र मंगल शाहीले दाबी गरेका छन् । सशक्त दाबी गरेका नेताहरुबीच शनिबार सहमतिको लागि प्रयास गरिने छ । नेताहरुबीच सहमति नभए निर्वाचन गएर भएपनि दलको नेता छान्ने तयारी भएको नेकपाको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्ने विषयमा शुक्रबार दिनभर संसदीय दलको बैठकमा छलफल भएको थियो । बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले दिएको जानकारी अनुसार ५ जना नेताहरुले दाबी नछोडेपछि शनिबार बस्नेगरी सकिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार