२०८३ कात्तिक १२ , बिहीबार
विकास पूर्वाधार

कर्णालीका आठ पालिका सडकविहीन



कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये आठ पालिकाका केन्द्र अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन्। डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक पालिकामा सडक नपुग्दा स्थानीय नागरिकले आवतजावत, खाद्यान्न ढुवानी र स्वास्थ्य सेवा लिन सास्ती भोगिरहेका छन्।

डोल्पाका डोल्पो बुद्ध, काइके, छार्का ताङसोङ र शे–फोक्सुण्डो; कालीकोटका महावै, पलाता र पचालझरना तथा मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका केन्द्र सडक सञ्जालबाहिर छन्।

डोल्पो बुद्ध गाउँपालिकाकी उपाध्यक्ष पेम्मा धोर्चे गुरुङका अनुसार गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम दुनै पुग्न पैदल तीनदेखि पाँच दिन लाग्छ। मुगुम कार्मारोङमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री मानिस तथा खच्चडबाट ढुवानी गर्नुपर्ने अवस्था छ।

डोल्पाको माथिल्लो क्षेत्रमा भेरी करिडोरअन्तर्गत सडक निर्माण भइरहेको भए पनि कठिन भूगोल र निर्माणको सुस्त गतिले काम प्रभावित छ। कालीकोटका केही क्षेत्रमा सडक बने पनि कर्णाली नदीमा मोटर चल्ने पुल नहुँदा पालिका केन्द्रसम्म यातायात पुग्न सकेको छैन।

सडक र पुल निर्माणमा ढिलाइ हुँदा नागरिकले आधारभूत सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्। स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्न निर्माणाधीन आयोजनाको काम समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार