२०८३ कात्तिक १३ , शुक्रबार
चाडपर्व लक्षित अवैध पटका ओसारपसार

सुर्खेतमा ५ हजारभन्दा बढी पटका बरामद



सुर्खेत । चाडपर्वलाई लक्षित गरी नेपालगञ्जबाट सुर्खेत ल्याउँदै गरिएका ५ हजार ४०९ पिस पटका प्रहरीले बरामद गरेको छ। विभिन्न सवारीसाधनमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा साेमबार प्रहरीले भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोस्टबाट पटका नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा नौ प्रकारका पटका फेला परेका हुन्।

बरामद गरिएका पटकामध्ये अक्टोपस पटका मात्रै ५ हजार पिस छन्। त्यस्तै, रकेट पटका ३६, म्याजिक पटका २००, सलाई पटका ८०, पप पटका तीन, सेल ब्याट्री पटका ५०, पेन्टा पटका २० र फ्लावर पटका २० पिस रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएका पटका करिब एक लाख ६० हजार रुपैयाँ बराबरका छन्। चाडपर्वका बेला अवैध रूपमा पटका भित्र्याउने प्रयास भइरहेको अवस्थामा सवारीसाधन जाँचका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पटका जस्ता विस्फोटक सामग्रीको अवैध ओसारपसार तथा प्रयोगले दुर्घटना र चोटपटकको जोखिम बढाउन सक्ने भएकाले प्रहरीले चाडपर्व लक्षित सुरक्षा जाँचलाई महत्त्व दिँदै आएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार