२०८३ कात्तिक १२ , बिहीबार
प्रदेशस्तरिय छनाैट प्रतियाेगिता

फुटबल र भलिबलमा उपाधिका लागि प्रतिस्पर्धा



सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका खेलाडी छनोट प्रतियोगिता शनिबार समापन हुने भएका छन्। असोज २६ गतेदेखि जारी छनोटका अधिकांश खेल सम्पन्न भइसकेका छन् भने फुटबल, भलिबल र क्रिकेटलगायतका खेल सञ्चालनमा छन्।

कर्णाली प्रदेश खेलकुद विकास समितिका अनुसार असोज ३१ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गर्ने तालिका रहे पनि केही खेलको प्रतिस्पर्धा लम्बिन सक्नेछ। शनिबार पुरुष फुटबलका सेमिफाइनल, महिला फुटबलको फाइनल र पुरुष भलिबलका निर्णायक खेल सञ्चालन हुनेछन्।

पुरुष फुटबलमा सुर्खेत र रुकुम पश्चिमको चुनौती

पुरुष फुटबलतर्फ शनिबार सेमिफाइनलका दुई खेल हुनेछन्। दिउँसो २ बजे रुकुम पश्चिम र हुम्लाबीच पहिलो सेमिफाइनल हुनेछ भने अपराह्न ४ बजे सुर्खेत र जाजरकोटबीच दोस्रो सेमिफाइनल खेलाइनेछ। यी खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

महिला फुटबलतर्फ भने शनिबार नै फाइनल खेल हुनेछ। उपाधिका लागि जुम्ला र सुर्खेतबीच प्रतिस्पर्धा हुने कर्णाली प्रदेश खेलकुद विकास समितिले जनाएको छ। प्रदेश रंगशालामा हुने फाइनल खेल बिहान ७ बजे सुरु हुनेछ।

पुरुष भलिबलमा सुर्खेत र सल्यान उपाधिका लागि भिड्ने

कालीकोटमा सञ्चालन भइरहेको पुरुष भलिबल छनोट प्रतियोगिता पनि शनिबार सम्पन्न हुने भएको छ। प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यानबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो स्थानका लागि दैलेख र रुकुम पश्चिम भिड्नेछन्।

महिलातर्फको भलिबल प्रतियोगिता भने शुक्रबार नै सम्पन्न भएको छ। प्रतियोगितामा रुकुम पश्चिम प्रथम, सल्यान द्वितीय र जाजरकोट तृतीय भएका छन्।

आइटीएफ तेक्वान्दो सम्पन्न, उसु थाउलको छनोट अन्तिम चरणमा

महिला तथा पुरुष दुवैतर्फको आइटीएफ तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव रविन्द्र चन्दले पदक तथा प्रमाणपत्र वितरण गरेका छन्।

त्यस्तै, उसुको थाउल विधातर्फको छनोट प्रतियोगिता पनि शनिबार सम्पन्न हुने सुर्खेत जिल्ला संयोजक भीमकुमारी भुसालले जानकारी दिइन्।

महिला क्रिकेटको छनोट सुरु

अन्य खेलहरू समापनको चरणमा पुगिरहेका बेला महिला क्रिकेटको छनोट प्रतियोगिता भने शुक्रबारदेखि सुरु भएको छ। वीरेन्द्रनगर रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गरिनेछ।

विभिन्न जिल्लामा सञ्चालन भएका छनोट प्रतियोगितामार्फत कर्णाली प्रदेशबाट दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोलीको टुंगो लगाइँदैछ। आगामी राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न यी प्रतिस्पर्धालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार