२०८३ कात्तिक १२ , बिहीबार
मिल्याे खानेपानीकाे एमआरपी विवाद

पूरानै मूल्य कायम गर्ने प्रशासन–उद्योगीबीच सहमति



सुर्खेत । प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी विवाद मिलेकाे छ ।

आइतबार प्रशासन र उद्योगीबीच भएको छलफलमा तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार उद्योगीले आफ्नो उत्पादनको एमआरपी निर्धारण गर्न पाउने, उत्पादनसम्बन्धी गुणस्तर मापदण्ड पालना गर्ने र मूल्यको औचित्य पुष्टि गर्न माग भएमा आवश्यक बिल–भरपाइ तथा कागजात पेस गर्नेछन्।

सहमतिपछि सोमबारदेखि उत्पादन सुरु गर्ने तयारी गरिएको आचार्यले बताए। उनले पसल तथा व्यवसायीले बोतलको पानी २५ र जारको ७० रुपैयाँमा बिक्री गर्नुपर्ने बताए। होटल तथा रेस्टुराँले भने आफ्नो सेवा सुविधाअनुसार मूल्य लिन सक्ने उद्याेगी कृष्ण अाचार्यले बताए।

आचार्यले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा (२) को खण्ड (ञ) ले उत्पादकलाई लागत, कर र गुणस्तरका आधारमा एमआरपी निर्धारण गरी लेबलमा राख्ने व्यवस्था गरेको दाबी गरेका छन्।

यद्यपि, प्रशासनले सहमतिबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। अब उद्योगहरूले नियमित उत्पादन र आपूर्ति कायम गर्ने, मूल्य स्पष्ट राख्ने तथा बजारमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री हुन नदिने विषय महत्त्वपूर्ण हुने देखिएको छ। उद्योग सञ्चालनको लागत र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्दै प्रशोधित पानी सहज रूपमा उपलब्ध गराउनु दुवै पक्षको साझा जिम्मेवारी हो।

उद्योगीका अनुसार प्रशासनले २०७६/०७७ मा प्रस्ताव गरिएको मूल्यअनुसार बोतलको पानी १६ र जारको ४७ रुपैयाँ कायम गर्न खोजेपछि असहमति भएको हो।

पानी उद्योग संघ सुर्खेतका अध्यक्ष कृष्ण आचार्यले कच्चा पदार्थ, इन्धन, ढुवानी र श्रमिकको लागत बढेकाले पुरानै मूल्यमा उत्पादन गर्न नसकिने बताए। उनका अनुसार पहिले १५० रुपैयाँ पर्ने कच्चा पदार्थको मूल्य अहिले ४०० रुपैयाँ पुगेको छ। लागत बढिरहेका बेला पुरानै मूल्य कायम गर्दा उद्योग सञ्चालनमै कठिनाइ हुने उनको भनाइ छ।

तर, मूल्य निर्धारण र बजारमा हुने बिक्रीलाई व्यवस्थित गर्नु प्रशासनको चासोको विषय हो। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बजारमा एमआरपीभन्दा बढी मूल्यमा पानी बिक्री हुन नहुने बताएका छन्। उनले मूल्य उद्योगीले निर्धारण गर्ने भए पनि तोकिएको मूल्यअनुसार बिक्री वितरण हुनुपर्नेमा जोड दिएका छन्।

उद्योगीका अनुसार सुर्खेतमा बोतलको पानीको एमआरपी २५ र जारको ७० रुपैयाँ छ। तर पसलमा बोतलको पानी सामान्यतया २५ रुपैयाँ, चिसो पानी ३० रुपैयाँ र ठूला होटलमा ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। जारको पानीसमेत ८० देखि ९० रुपैयाँसम्म बिक्री हुने गरेको उनीहरूको भनाइ छ।

वीरेन्द्रनगरमा धाराको पानी नियमित नआउने भएकाले धेरै उपभोक्ता जारको पानीमा निर्भर छन्। यस्तो अवस्थामा आपूर्ति रोकिँदा सर्वसाधारणले थप समस्या भोग्नुपरेको छ। उद्योगीले लागत बढेको भन्दै मूल्य निर्धारणमा आफ्नो अधिकारको कुरा उठाएका छन् भने उपभोक्ताका लागि पानीको सहज उपलब्धता र उचित मूल्य पनि उत्तिकै महत्त्वपूर्ण छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार