२०८३ कात्तिक १२ , बिहीबार
कर्णालीमा सवारी दुर्घटना

एक वर्षमा १ सय ३४ जनाको मृत्यु, सुर्खेतमा सबैभन्दा बढी दुर्घटना



सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिको हिसाबले सुर्खेत सबैभन्दा अगाडि देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर भएका सवारी दुर्घटनामा सुर्खेतमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने एक हजार १९५ जना घाइते भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको अभिलेखअनुसार उक्त अवधिमा सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालकको सवारी दुर्घटनामा मृत्यु भएको हो। प्रदेशका अन्य जिल्लाको तुलनामा सुर्खेतमा मृत्यु र घाइते हुने दुवैको सङ्ख्या बढी देखिएको छ।

सवारी दुर्घटनाबाट हुने मृत्युको सङ्ख्याका आधारमा रुकुमपश्चिम दोस्रो स्थानमा छ। त्यहाँ १२ पुरुष, चार महिला, दुई बालक र चार बालिकासहित २२ जनाको मृत्यु भएको छ। सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, कालीकोटमा १३, दैलेखमा १२, जाजरकोटमा नौ, हुम्लामा आठ र जुम्लामा चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। डोल्पामा छ पुरुष र मुगुमा तीन पुरुषको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

घाइते हुनेमा पनि सुर्खेतकै सङ्ख्या बढी

सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या पनि सुर्खेतमै सबैभन्दा धेरै छ। प्रहरी अभिलेखअनुसार एक वर्षको अवधिमा सुर्खेतमा ७१३ पुरुष, ३०० महिला, ११५ बालक र ६७ बालिका गरी एक हजार १९५ जना घाइते भएका छन्।

रुकुमपश्चिममा १४१ पुरुष, ६२ महिला, ३३ बालक र २६ बालिकासहित २६२ जना घाइते भएका छन्। सल्यानमा २०२ र दैलेखमा २०० जना घाइते भएको प्रहरीको तथ्याङ्क छ।

यसैगरी, जाजरकोटमा १२६, कालीकोटमा ९६, जुम्लामा ८४, डोल्पामा ५६, हुम्लामा ५४ र मुगुमा ३० जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को दुर्घटना अभिलेखले सुर्खेतमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिको अवस्था अन्य जिल्लाको तुलनामा गम्भीर रहेको देखाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार