२०८३ कात्तिक १३ , शुक्रबार
लेकवेसी प्रिमियर लिगको उपाधि रोकाया टोललाई

फाइनलमा त्रिवेणी युवा समाज ४८ रनले पराजित



सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा आयोजित लेकवेसी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रोकाया टोल स्पोर्ट्स क्लबले जितेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा त्रिवेणी युवा समाजलाई ४८ रनले पराजित गर्दै रोकाया टोलले उपाधि हात पारेको हो। उपाधिसँगै रोकाया टोलले एक लाख एक रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताको उपविजेता बनेको त्रिवेणी युवा समाजले ५० हजार एक रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनक सुनार प्लेयर अफ द म्याच घोषित भएका छन्।

लेकवेसी एकता समाजका कार्यवाहक अध्यक्ष ध्वजबहादुर शाहीका अनुसार गाउँघरमा क्रिकेट खेलको विकास गर्ने र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले गत वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ।

ग्रामीण क्षेत्रमा क्रिकेटको आकर्षण बढाउनुका साथै स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले लिगलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार