२०८३ वैशाख ३ , बिहीबार

‘मोटरसाइकलका डाक्टर’ राजु दाई !



राजु दाई सुर्खेतमा मोटरसाइकल प्रयोग गर्नेहरुका लागि परिचित नाम हो । उनको वास्तविक नाम भने हेमराज खड्का हो । मालिक, कर्मचारी र ग्राहकहरुले सबैको माया गरेर हेमराजबाट राजु नाम राखिदिएका हुन् । यही राजु नामबाट उनी सुर्खेतमा परिचित छन् । कुनै समय उनी सुर्खेतको प्रतिष्ठित मोटरसाइक ग्यारेजमा हेड मिस्त्री थिए । १२ वर्ष अर्थात २०५७ सालदेखि २०६९ सालसम्म जहाँ जीवनको उर्जाशिल समयमा खर्चिए । हालः वीरेन्द्रनगर–३ गण्डीकी लाइमा आफ्नै वर्कसप (ग्यारेज) छ । विगत १४ वर्षदेखि राजु वर्कसप (मोटरसाइक मर्मत गर्ने पसल) सञ्चालन गर्दै आएका छन् ।

राजुदाइको सीप र क्षमताप्रति ग्राहकले विश्वास र भरोसा छ । ‘जसरी विरामी डाक्टर खोज्दै जान्छन्, त्यसैगरी मोटरसाइकलको मर्मत गर्न ग्राहकहरु खोज्दै आउनुहुन्छ’ उनी सुनाउँछन् ‘सुर्खेतका मात्र होइन, जुम्लादेखि डोल्पासम्मका ग्राहकहरु आउनु हुन्छ ।’ एक हिसावले भन्दा उनी विरामी मोटरसाइकलका अस्सली डाक्टर हुन् । 

व्यापार व्यवसाय गर्नेहरुका लागि मुख्य बजार क्षेत्र त्यसमा पनि सबै देख्ने र जमघट हुने ठाउँ सबैको रोजाइमा पर्छ । तर उनको वर्कसप मुख्य बजार क्षेत्रभन्दा टाढा छ । जुम्लारोडमा थुप्रै मोटरसाइकलका ग्यारेज र मर्मत सेन्टरहरु छन् । राजुदाइको वर्कसप भने जुम्लारोडभन्दा पनि भित्र अर्थात गण्डकी लाइनमा छ । पाएक नपर्ने ठाउँमा तपाइको व्यवसाय चलेको छ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘राजुदाई नामै काफी छ, म जहाँ गए मेरा ग्राहकहरु त्यही आउनु हुन्छ’ उनले सजिलै उत्तर फर्काउँछन् । राजुदाइको सीप र क्षमताप्रति ग्राहकले विश्वास र भरोसा छ । ‘जसरी विरामी डाक्टर खोज्दै जान्छन्, त्यसैगरी मोटरसाइकलको मर्मत गर्न ग्राहकहरु खोज्दै आउनुहुन्छ’ उनी सुनाउँछन् ‘सुर्खेतका मात्र होइन, जुम्लादेखि डोल्पासम्मका ग्राहकहरु आउनु हुन्छ ।’ एक हिसावले भन्दा उनी विरामी मोटरसाइकलका अस्सली डाक्टर हुन् । ‘न बिग्रेको सामानलाई बिग्रीयो भन्दै भन्दिन, बिग्रेको मर्मत गर्न सोध्नै पर्दैन’ आफ्नो कर्मप्रतिको लगावको बेलिविस्तार लगाउँदै उनी भन्छन्, ‘ग्राहक त भगवान हुन् नि ? ग्राहकलाई कहिलै दुःख दिनुहुँदैन ।


सबैले पत्याएका राजुले मोटरसाइकल मर्मतको सीप सिक्न गरेको संघर्ष भने निकै कठिन छ । सीप सिक्दा अनिद्रा, भोक र प्यास सबै त्यागे । ‘यो काम सिक्दा म रातमा २/३ घण्टामात्रै सुतेको छु’ विगत सम्झदै उनी थप्छन्, ‘यही पेशामा बाँच्नु रहेछ, बेलैमा सीप सिकेर राम्रै गरिएछ ।’ २/३ घण्टामात्र सुत्नेर कसरी बाच्न सकिन्छ ? सजिलै विश्वास गर्न गाह्रो हुन्छ । तर समय त्यस्तै रहेछ । भारतको पन्जाप सहरमा उनले मोटरसाइकल मर्मतको सीप सिकेका हुन् । खास उनी त्यहाँ चौकीदारी गर्थे । चौकीदारी आफैमा जोखिमपूर्ण पेशा हो । टोलमा चोरी डकैती हुन नदिने जिम्मा उनको काँधमा थियो । मध्यरात अर्थात राती १० बजेदेखि विहान ४ बजेसम्म ट्युटी थियो । हरेक दिन विहान ४ बजेदेखि ७ बजेसम्म मात्र सुत्न पाउँथे । सात बजेदेखि दिनभर मोटरसाइकल मर्मको सीप सिक्न जान्थे । करिव ६ वर्ष उनको दैनिकी यसैगरी चल्यो । ‘काम सिक्दा मैले रातमा २/३ घण्टा मात्रै सुतेको छु, एक दुई वर्ष होइन ६ वर्षसम्म यसैगरी संघर्ष गरे’ उनी भन्छन्, ‘समयमै सीप सिके र यही पेशामा आत्मनिर्भर भएको छु ।’ सीप भए सजिलै बाँच्न सकिन्छ भन्ने बुवाको सोचाइ अनुसार नै राजुले मोटरसाइकल मर्मको ज्ञान लिएका रहेछन् ।हाल: गण्डिकी लाइनमै स्थायी बसोबास भएका राजुको जन्म स्थान भने लुम्बिनी प्रदेशका राजधानी दाङमा भएको हो । बुवा मनिराम र आमा रोज खड्काबाट २०३० माघमा घोराई उपमहानगरपालिका –५ धर्नामा उनको जन्म भएको हो । चार भाइ र दुई बहिनीमध्ये उनी साइलो हुन् । बाल्यकाल गाउँमै विताए । ‘कृषकको छोरा सानो छदा घाँस, दाउरा, मेलापात गरेर’ उनले भने, ‘हाम्रो परिवार सम्पन्नशाली होइन तर अभाव थिएन, खेती किसानीबाट सबै आवश्यकताहरु पूरा हुन्थे ।’ आमाले मेलापात धानेपनि बुवा पहिलेदेखि नै भारतमा चौकीदारी गर्थे ।

राजुभन्दा अगाडि सबैदाइहरु बुवासँग पन्जाप पुगिसकेका थिए । कक्षा ७ को पढाई पूरा गरेपछि राजुपनि बुवासँग पन्जाप झिरेका हुन् ।भारतमा तलव सुविधा राम्रै थियो । त्यो समयमा भारती १५ हजार राम्रो तलव हो । तर उनी त्यो सुविधा त्यागेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर स्वदेश फर्किए । भारतबाट फर्किएपछि उनी फुर्सदमा थिए । त्यही बेला फुपुको छोरा (नविन खनालले) उनलाई सुर्खेत ल्याएका हुन् । नविन सुर्खेतमै गाडी चालकको थिए । २०५७ सालमा सुर्खेत आएका राजु वीरेन्द्रनगरवासी भएका छन् । सबै आवश्यकताहरु यही पेशाबाट परिपूर्ति गरेको सुनाउँछन् । इमान्दारी पूर्वक काम गरेको खण्डमा यो पेशाबाट दैनिक आवश्यकताहरु सजिलै पूरा गर्न सकिने उनको अनुभव छ । ‘कमाइ मात्र गरेर त हुँदैन कमाई अनुसारको बचत गर्न सक्नुपर्छ’ उनी भन्छन्, ‘जीवनमा पैसा जतिबेला चाहिन सक्छ, सन्तान र भविष्यका लागि बचत गर्नुपर्छ ।’ आर्थिक रुपमा आत्मनिर्भर बन्न आफैले पेशा व्यवयाय गर्नुपर्ने उनको भोगाइ छ । ‘४०/५० हजारको जागिरले घर खर्च त चल्छ, आफैले पेशा व्यवसाय गरे सन्तुष्टसँग बाच्न सकिन्छ’ उनी भन्छन्, ‘तर सरकारले नै युवालाई केही गरिखाने बाटो देखाउन सकेको छैन ।’ उद्योग, कलकारखाना नभएका कारण घर खर्च चलाउन लाखौँ युवाहरु विदेशीनु परेको राजुको तर्क छ ।


दाङमै जन्म हुर्केका राजुले गाउँ नजिकैबाट जीवन साथी खोजे । दाइको ससुराली गाउँबाट रीतालाई जीवनसाथी बनाएका उनका दुई छोरी र एक छोरा छन् । ‘दाइको ससुरालीमा केटी छ भन्ने कुरा आयो, त्यसअघि देखेको, चिनेको थिएन’ विवाहको प्रसंग कोट्याउँदै उनले भने, ‘पहिलो भेटमै एकअर्काले मन परायौँ अनि मागेर विवाह गयौँ ।’

प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार