सुर्खेत । सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाका केही बस्तीमा घाम नलागेसम्म मोबाइल फोनमा नेटवर्क आउँदैन। बिहान, साँझ र रातिको समयमा टेलिफोन सेवा अवरुद्धजस्तै हुने भएपछि स्थानीय बासिन्दाले आफन्तसँग सम्पर्क गर्न र इन्टरनेट चलाउनसमेत समस्या भोग्दै आएका छन्।
प्रदेश राजधानीकै जिल्लाभित्र रहेको सिम्ता गाउँपालिकाका वडा नं. १, २ र ३ मा मोबाइल नेटवर्क र इन्टरनेट सेवा भरपर्दो नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ। घाम लागेको समयमा मात्रै टेलिफोन सेवा चल्ने र अन्य समयमा फोन गर्नसमेत नेटवर्क खोज्दै हिँड्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।
स्थानीय टोपबहादुर खत्रीका अनुसार सञ्चार सेवाको समस्याले सामान्य सूचना आदानप्रदानदेखि आकस्मिक अवस्थामा सम्पर्क गर्नसमेत कठिनाइ हुने गरेको छ। फोन गर्न अन्य ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले घाम नलागेका बेला टेलिफोन सेवा नै नचल्ने समस्या सुनाए।
अर्की स्थानीय लक्ष्मी रेग्मीले पनि वर्षौंदेखि भोग्दै आएको नेटवर्कको समस्या समाधानका लागि टेलिकम कार्यालयमा जानकारी गराउँदा सुनुवाइ नभएको गुनासो गरिन्। नजिकै विद्युत् सुविधा नहुँदा सञ्चार सेवाको समस्या थप जटिल बनेको उनको भनाइ छ।
स्थानीयले लामो समयदेखि समस्या भोग्नुपरे पनि समाधान नभएपछि सिम्तामा सञ्चार सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकमलाई औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ। उद्योग वाणिज्य सङ्घ भेरी, उपशाखा सिम्ताले मंगलबार नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतमा ज्ञापनपत्र बुझाउँदै मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधारको माग गरेको हो।

उद्योग वाणिज्य सङ्घ भेरी, उपशाखा सिम्ताका अध्यक्ष गङ्गाप्रसाद ढकालका अनुसार गाउँपालिकाका विभिन्न बस्तीमा मोबाइल नेटवर्क कमजोर हुनुका साथै इन्टरनेट सेवाको पहुँच र गुणस्तरमा समेत समस्या छ। उनले सञ्चार सेवा सुधारका लागि तत्काल प्राविधिक अध्ययन गरी आवश्यक पूर्वाधार विकास र नेटवर्क क्षमता विस्तार गर्न माग गरिएको बताए।
ज्ञापनपत्रमा नेटवर्क कमजोर भएका क्षेत्रमा क्षमता विस्तार, आवश्यक पूर्वाधार निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था गर्न आग्रह गरिएको छ। त्यस्तै, सिम्ताका जामुने बजार, गोर्जी बजारलगायत प्रमुख व्यापारिक केन्द्रमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न र सम्भव भएका स्थानमा फाइबर इन्टरनेट उपलब्ध गराउन माग गरिएको छ।
ग्रामीण क्षेत्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी गुणस्तरीय र भरपर्दो सञ्चार सेवा उपलब्ध गराउन दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि ज्ञापनपत्रमार्फत जोड दिइएको छ।
ज्ञापनपत्र बुझ्दै नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक निरण जोशीले सिम्ता क्षेत्रमा देखिएको सञ्चार समस्यालाई छिट्टै सम्बोधन गर्ने गरी पहल अघि बढाउने प्रतिबद्धता जनाए। उनले स्थानीयले भोग्दै आएको समस्यालाई ध्यानमा राखेर सम्बन्धित निकायसँग समन्वय गरी सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्