२०८३ वैशाख ६ , आइतबार

कर्णाली सरकारप्रति जिसीकाे प्रश्न : भवनमा नाम टाँस्न दौडिने हाे ?



सुर्खेत । कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रदेश सरकारमाथि तीव्र आलोचना गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा प्रदेश सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा देखावटी गतिविधिमा ध्यान दिएको आरोप लगाएका छन्।
“साना–साना भवनका शिलालेखमा समेत नाम टाँस्न दौडिरहने, साना आयोजना शिलान्यास गर्न नछोड्ने, प्रदेशका ऐन–कानुन निष्क्रिय पारेर संघ सरकारका विज्ञप्तिका आधारमा परिपत्र र निर्देशन गर्ने काम भइरहेको छ,” जिसीले बताएका छन्।
उनका अनुसार सरकारका सदस्यहरू परम्परागत मेलामेलामा गएर ठूला भाषण गर्ने तर व्यवहारमा जनताको समस्या सम्बोधन नगर्ने प्रवृत्ति मौलाएको छ।
जिसीले सरकारप्रति दोहोरो व्यवहार देखाएको पनि आरोप लगाए। “हिजो अरूले विपद् पीडितको राहत तथा उद्धारमा जाँदा भ्रमणको संज्ञा दिने, अहिले आफैं गए तिर्थ भइदिन्छ?” भन्दै उनले प्रश्न गरेका छन्।
उनले थपे, “सबै कुरा ठिक छ भनेर मानिदिनु पर्ने जस्तो व्यवहार हुँदैछ। तर गर्छु भनेका सबै विषयका हिसाब अरूले पनि राख्छन्।” प्रमुख सचेतक जिसीको भनाइले प्रदेश सरकार र प्रतिपक्षबीचको सम्बन्धमा फेरि एकपटक तिक्तता थपिएको देखिन्छ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार