२०८३ वैशाख ६ , आइतबार
संघ र प्रदेश सरकारबीचको संयुक्त निर्णय

सुर्खेतमै सिकलसेलको उपचार गर्ने, सहुलित पनि दिने



सुर्खेत । सिकलसेल एनिमियाको उपचार अब सुर्खेतमै हुने भएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच भएको छलफलमा सिकलसेलको उपचार सुर्खेतमै गर्ने निर्णय भएको हो ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माको अध्यक्षतामा बसेको बैठकले सिकलसेलको उपचार सुर्खेतको प्रदेश अस्पतालमा गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्तालयले पुस ९ गते आयोजना गरेको स्वास्थय विषयगत समितिको बैठक । यही बैठकले सुर्खेतको प्रदेश अस्पतालमा सिकलसेल एनेमियाको उपचार गर्ने गर्ने निर्णय गरेको थियो ।

प्रदेश अस्पतालमा सिकलसेलको पचारका लागि आवश्यक पर्ने अन्य सुविधाहरु आवश्यकताको आधारमा संघीय सरकारले उपलब्ध गराउने छ । सिकलसेलको उपचारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले उपलब्ध गराएको परीक्षण मेसिन प्रदेश अस्पतालमा छ । त्यसको संञ्चालनमा र जनशक्ति अभाव भएको खण्डमा प्रदेश सरकारको अनुरोधमा संघीय सरकारले उपलब्ध गराउने छ ।
त्यस्तै सिकलसेल उपचारका लागि संघीय सरकारले दिँदै आएको सहुलियत सुविधा पनि प्रदेश अस्पतालमै उपलब्ध गराउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए । सहुलित उपचारको प्रदेश अस्पतालमा नहुँदा सुर्खेतका सिकलसेल संक्रमितहरु सहुलियत उपचारका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज जानुपर्ने बाध्यता छ । सिकलसेल संक्रमितका लागि संघीय सरकारले एक लाख रुपैयाँ बराबरको सहुलियत दिएको छ ।
प्रदेश सरकारले प्रदेश अस्पतालमा सहुलियत सेवा सहित सिकलसेलको उपचारका लागि प्रक्रिया अगाडि बढाएको छ । जनशक्तिको व्यवस्थापन र संघीय सरकारले दिँदै आएको सहुलित सुविधाको बाँकी प्रक्रिया अगाडि बढेपछि प्रदेश अस्पतालमै सिकलसेलको उपचार हुने सरकारले जनाएको छ । सुर्खेतमै उपलब्ध भएको खण्डमा यहाँका थारु समुदायलाई ठूलो राहत मिल्ने छ ।
कर्णाली प्रदेशको सुर्खेतमै मात्रै थारु समुदायको बसोबास छ । विभिन्न ३२ टोलमा झण्डै ९ हजारको संख्या थारु समुदायहरु छन् । थारु समुदायमा मात्रै लाग्ने सिकलसेल रोगबाट सुर्खेतका थारु समुदाय पनि पीडित छन् । तर सुर्खेतमा सिकलसेलको प्रभावकारी उपचार छैन । यही समस्यालाई मध्यनजर गरेर केही समय अघि कर्णाली प्रदेशसभामा सदस्यहरु, सरोकारवाला निकायले सिकलसेलको उपचारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । युएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको सुर्खेतमा सिकलसेल रोगसम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री र सदस्यहरुले सिकलसेलको उपचारका लागि पहल गर्ने प्रतिबद्धता नजाएका थिए । सोही प्रतिबद्धता अनुसार सामाजिक विकास समितिले पटक-पटक प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसँग छलफल गरेको थियो । छलफलकै क्रममा मन्त्री भण्डारीले सिकलसेल संक्रमितका लागि आवश्यक पर्ने औषधि खरिद गर्ने प्रतिबद्धता जनाएका थिए । हालः प्रदेश आपूर्ती केन्द्रले औषधि खरिदको प्रक्रियासमेत अगाडि बढाइ सकेको छ ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार