२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमै सिकलसेलको उपचारका लागि पहल गर्ने प्रतिबद्धता



सुर्खेत । सुर्खेतका सारोकारवालाहरुले सिकलसेल एनिमिया रोगको उपचार सुर्खेतमै गर्ने प्रतिबद्धता जनाएका छन् । युएनडीपी संसद सहयोग परियोजनासँगको आर्थिक सहयोगमा मंगलबार संसदीय मामिला पत्रकार समाजले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘सुर्खेतमा सिकलसेल एनिमिया रोग सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममा सरोकारवाला निकायले यस्तो प्रतिबद्धता जनाएका हुन् । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको समन्वय र सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र जिल्ला समन्वय समिति सुर्खेतसँगको सहकार्यमा भएको कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सबै निकायसँग समन्वय गरेर सिकलसेलको उपचारको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेशको सबैभन्दा ठूलो अस्पताल सुर्खेतमै छ, अब सिकलसेलको उपचार यही गर्ने व्यवस्था गर्छुपर्छ’ सभापति खत्रीले भने, ‘त्यसका लागि प्रदेश सरकार, प्रदेश अस्पताल लगायतका निकायसँग समन्वय गर्छाैँ ।’ खत्रीले तिहार लगत्तै समितिको बैठक बसेर सुर्खेतमै सिकलसेलको उपचार सुर्खेतबाट गराउन पहल गर्ने प्रष्ट पारे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका चिकित्सा विभागका प्रमुख डाक्टर शंकर रिजालले पनि सिकलसेलको उपचार सुर्खेतमै गराउन पहल गर्ने बताए । ‘सबै निकायसँग समन्वय गर्ने हो भने सिकलसेलको उपचार सुर्खेतमै गर्न सकिन्छ’ उनले भने, ‘ढिलो चाँडो सुर्खेतबाट सिकलसेलको उपचारको व्यवस्था हुन्छ ।’


स्वास्थ्य सेवा निर्देशनालयका नसर्ने रोग फोकलपर्सन किरण शर्माले पनि सबै निकायबीच समन्वय भएको खण्डमा विरामीले पाउने एक लाख रुपैयाँसम्मको उपचार सहुलियत र सिकलसेलका लागि सबै परीक्षण सुर्खेतमै गर्न सम्भवन हुने बताए ।
त्यस्तै प्रदेश अस्पतालका भरत देवकोटले सरकारले पहल गरेको खण्डमा प्रदेश अस्पतालबाट नै सहुलियतमा उपचार गर्न सकिने बताए । थारु समुदायमा लाग्ने सिकलसेलबाट सुर्खेतमा ८८ जना पीडित छन् । संक्रमित मध्ये कतिपयले नियमित उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता छ । सिकलसेल संक्रमितका लागि सरकारले एक लाख रुपैयाँसम्म सहुलियत दिने गरेको छ । तर कर्णाली प्रदेशका कुनै पनि अस्पतालमा सिकलसेलको सहुलियत उपचारको व्यवस्था छैन । सोही कारण सहुलियत उपचारका लागि सुर्खेतका सिकलसेल संक्रमित नेपालगञ्ज जाने गरेका छन् । नेपालगञ्ज जाँदा गाडी भाडा र बास बस्दा लाग्ने खर्चले आर्थिक भार पर्ने गरेको छ । कतिपय औषधिहरु सुर्खेतका मेडिकलहरुमा समेत पाइदैन । सोही कारण संक्रमितहरु थप पीडित बन्नुपर्ने अवस्था छ । सिकलसेल थारु समुदाय मात्र लाग्ने रोग हो । कर्णाली प्रदेशको सुर्खेतमा मात्रै थारु समुदायको बसोबास छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार