२०८३ वैशाख ५ , शनिबार
‘आवास कार्यक्रम’ विपन्नलाइ बरदार

आठ वर्षमा जुम्लामा बने दुई सय घर



सुर्खेत । कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘जनता आवास कार्यक्रम’ र ‘विपन्न आवास कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यी कार्यक्रमबाट पछिल्लो आठ वर्षमा मात्रै जुम्लामा दुई सय बढी घरहरु बनेका छन् ।
हालसम्म कुल दुई सय ८ वटा घर बनेको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । यस कार्यक्रम अन्तर्गत घर नहुँदा कठिनाइमा परेका गरिब तथा दलित परिवारले नयाँ घर पाएका छन् । सामाजिक न्याय र जीवनस्तर उकास्नका लागि सञ्चालन गरिएको यस योजनाले जिल्लाभरका आवासबाट वञ्चित परिवारलाई प्रत्यक्ष लाभ पुगेको कार्यालयका नायब सुब्बा धर्मराज रावलले जनकारी दिए ।
जस अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १८ विपन्न र १८ जनता आवासका घर निर्माण भएका छन् । यस्तै आव २०८१÷८२ मा पनि १८ विपन्न र १८ जनता आवासका घर निर्माण भएको पूर्वाधार विकास कार्यालयका धर्मराज रावलले जानकारी दिए । त्यस्तै गत वर्षनै निर्माण सम्पन्न भएका १८ घरमध्ये पाँच वटाको भुक्तानी बाँकी छ । आर्थिक वर्ष सकिदासम्म घरको निर्माण सम्पन्न नभएका कारण भुक्तानीमा ढिलाइ भएको हो । प्रदेश सरकारले घर निर्माणका लागि प्रतिघर घर तीन लाख ३३ हजार रुपैयाँ दिने गरेको छ ।
प्रदेश सरकारले विपन्न दलित समुदाय लक्षित जनता आवास कार्यक्रम र सबै समुदायका विपन्न नागरिकको घर निर्माणका लागि विपन्न आवास कार्यक्रम’ लागू गरेको छ । जसबाट विभिन्न जिल्लामा विपन्न नागरिकका घर बनेका छन् । प्रदेश सरकारले २०७५ बाट जनता आवास र २०६८ देखि विपन्न परिवारका घर निर्माणका लागि यी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार