सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै जैविक खेती प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कर्णालीको माटोको उर्वराशक्ति, रैथाने बाली र परम्परागत बीउबिजनको संरक्षणका लागि जैविक मलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ।
शनिबार सुर्खेतको दशरथपुरस्थित कृषि अनुसन्धान केन्द्रको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले कर्णालीमा जैविक (कम्पोस्ट) मलको उत्पादन र प्रयोग विस्तार गरी रासायनिक मल तथा विषादीलाई पूर्ण रूपमा विस्थापित गर्नुपर्ने बताए।

केन्द्रका कर्मचारीसँगको छलफलमा उनले कर्णालीका रैथाने बाली र बीउबिजन लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उल्लेख गरे। रैथाने कृषि उपजको संरक्षणसँगै प्राङ्गारिक उत्पादन वृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
‘कर्णालीमा जैविक मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्नुपर्छ,’ उनले भने, ‘कर्णालीकै रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादनमा विशेष जोड दिन आवश्यक छ।’
मुख्यमन्त्री शाहीले जैविक मलको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न कृषि अनुसन्धान केन्द्रलाई आवश्यक अध्ययन र अनुसन्धान अघि बढाउन आग्रह गरे। ठूलो परिमाणमा जैविक मल उत्पादन, बिक्री तथा वितरण गर्ने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै उनले रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार केन्द्रसँग सहकार्य गर्न तयार रहेको बताए।
उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेको असर न्यूनीकरण गर्ने उपायको खोजी गर्न र कर्णालीका परम्परागत बाली तथा बीउबिजन संरक्षणका लागि विस्तृत अनुसन्धान गर्न पनि सुझाव दिए। रासायनिक मल प्रयोग नगरी शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देवीनिधि तिवारीले आवश्यक जनशक्तिको अभावमा केन्द्रले आफ्नो कार्यक्षेत्रअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको बताए। केन्द्रको कार्यक्षेत्र कर्णालीका १० वटै जिल्ला भए पनि सीमित जनशक्तिका कारण सबै क्षेत्रमा अनुसन्धान तथा सेवा विस्तार गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए।
तिवारीले बीउ उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रदेश सरकारले थप लगानी गरेमा कामलाई अझ प्रभावकारी र व्यापक बनाउन सकिने बताए।
प्रतिक्रिया दिनुहोस्