२०८३ कात्तिक १४ , शनिबार
कर्णालीका हिमाली जिल्लामा हिमपात

आवागमन प्रभावित, उद्धार टोली तयारी अवस्थामा



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात हुनुका साथै तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपात र वर्षाका कारण केही स्थानमा सडक तथा पैदलमार्ग अवरुद्ध भएका छन् भने सम्भावित विपद्को जोखिम बढेको छ।

स्थानीयका अनुसार डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको छ। त्यस्तै, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकाका उच्च क्षेत्रमा पनि हिमपात भएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा हिमपात भइरहेको छ। हिमपातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले उद्धार तथा राहतको तयारी गरेको उनले बताइन्।

उनका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रीको आवागमन रोकिएको छ। त्यसअघि माथिल्लो डोल्पा पुगेका पदयात्रीको अवस्थाबारे पनि सूचना सङ्कलन भइरहेको छ। सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि कमाण्ड पोस्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको उनले जानकारी दिइन्।

यता, मुगुमा निरन्तर वर्षा भएपछि पहिरोको जोखिम बढेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार शुक्रबार बेलुका ५ बजेदेखि मध्यम खालको वर्षा भइरहेको छ। सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको उनले बताए।

मुगुमा टेलिफोन नेटवर्क र प्रहरी सञ्चारसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले जानकारी दिए। विपद्जन्य घटना हुन सक्ने अवस्थालाई ध्यानमा राखेर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत उद्धार र जोखिम व्यवस्थापनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको उनको भनाइ छ।

हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका हिल्सा, लिमी र लाप्चा जाने बाटोसमेत बन्द भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार हिमपात र वर्षाबाट जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ।

उनले कमाण्ड पोस्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायतका निकायलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय गरिएको जानकारी दिए।

हिमपात र वर्षा जारी रहेकाले हिमाली जिल्लामा थप जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन र आवश्यक समन्वयमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शनिबार