अहिलेको युग डिजिटल मिडियाको हो । विज्ञान र प्रविधिमा भएको चमत्कारी विकासका कारण डिजिटल मिडिया सूचनाको भरपर्दाे माध्यम बनिरहेको छ । सबै नागरिकको हात–हातमा एन्ड्रोइड मोवाइल छ । यही मोवाइलमा गाउँदेखि शहरसम्म र देशदेखि विदेशसम्मका खबरहरु अटाएका छन् । पछिल्लो समय परम्परागत मिडियाहरु पनि डिजिटल प्लेटफर्ममा रुपान्तरित भइरहेका छन् । एक हिसाबले भन्दा डिजिटल मिडियाको बाढी नै छ । यही भिडमा केही फरक गर्ने सोचका साथ आजदेखि हामी आएका छौँ ।
हामीले यसअघि पनि भैरव मिडिया हाउसबाट मिडियासँग सम्बन्धित गतिविधिहरु गर्दै आएका थियौं । सोसियल मिडियाका माध्यमबाट सुर्खेतमा हामी स्थापित छौँ । फेसबुक र युट्बका माध्यमबाट पहिलेदेखि नै तपाईसँग जोडिएका थियौँ । तर आजदेखि विशुद्ध समाचार सामग्रीको भरपर्दाे माध्यम बन्ने उद्देश्य राखेर bhairabmedia.com बाट तपाइहरु समक्ष आएका छौँ । समयका हिसाबले हामी ढिला हौंला तर छिटोको नाममा गलत सूचना दिने छैनौँ । विशेषबस्तुका हिसाबले हामी केही फरक गर्ने उद्देश्य राखेका छौँ । भुई मान्छेका समाचारहरु हाम्रो पहिलो प्राथमिकता हुनेछन् । कुनै राजनीतिक दल, समूह वा व्यक्ति विशेषबाट हामी टाढै रहनेछौँ । गाउँ–समाजमा भए गरेका गलत क्रियाकलापको सदैभ विपक्षमा उभिने छौँ । हाम्रा अधिकाँश सामग्रीहरु भिडियोमार्फत बाहिर ल्याउने छौँ ।
मिडियाका माध्यमबाट नागरिकलाई सत्य सूचना र तथ्य खबर पुर्याउनु हाम्रो आफ्नो कर्तव्य ठानेका छौँ । निर्भिक र निष्पक्ष भएर कर्म गर्दै समाज रुपान्तरणमा योगदान गर्नु हामीले आफ्नो दायित्व ठानेका छौँ । मुलुकको विकास र समृद्धिका लागि पत्रकारिताका माध्यमबाट जनमत निर्माण गर्दै तीनवटै तहका सरकारलाई सचेत बनाउन प्रयास गर्ने छौँ । सबै वर्ग र समुदायका विचार, खबर, समीक्षा, सिर्जना र अनुभूतिहरुलाई स्थान दिनेछौँ । भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको खेलबाट हामी टाढा नै रहनेछौँ । स्वतन्त्रता, सत्यता र गुणस्तरीय सामग्रीप्रति हामी द्रिढ छौँ । डिजिटल मिडिया सञ्चालन गर्नु पक्कै पनि सजिलो छैन । तर हामी बिचलिन नभई कर्म गर्ने प्रतिबद्धता जनाउदछौँ । तपाईका सकारात्मक सुझाव र सल्लाह अनुसार bhairabmedia.com परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदछौँ ।
प्रकाशक
टिका शर्मा
प्रतिक्रिया दिनुहोस्