सुर्खेत । रारा ताल घुम्न गएका १२ जना पर्यटक जंगलमा बाटो भुलेर अलपत्र परेपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा क्षेत्रको जंगलमा अलपत्र परेका उनीहरूलाई सेनाले गएराति उद्धार गरेको हो।
रारा भ्रमणका क्रममा चुच्चेमारा क्षेत्रमा अलपत्र परेको जानकारी प्राप्त भएपछि हनुमानध्वज गुल्मबाट नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। गुल्मका प्रमुख मेजर खड्कबहादुर श्रेष्ठका अनुसार राति १० बजेर २५ मिनेटमा जंगलको मध्यभागबाट आठ महिला र चार पुरुषसहित १२ जनालाई सकुशल उद्धार गरिएको हो।

मुगुबाट पैदल जुम्ला जाने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको समूहलाई सेनाले सुरक्षित रूपमा सल्लेरी ल्याएको थियो। त्यसपछि मुगु प्रहरीको सहयोगमा राति नै जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थित भण्डारीवाडा गाउँ पुर्याइएको मेजर श्रेष्ठले जानकारी दिनुभयो।
उद्धार गरिएका सबै जना जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका बासिन्दा हुन्। उनीहरू करिब चार घण्टा जंगलमा अलपत्र परेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्