२०८३ कात्तिक १५ , आइतबार
कर्णालीका मुख्यमन्त्रीकाे अाग्रह

“पदक जित्नेगरी तयारी गर्नुस्, बजेटको समस्या हुँदैन”



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ। उत्कृष्ट खेलाडी छनोट र प्रभावकारी प्रशिक्षणमा ध्यान दिन आग्रह गर्दै उहाँले त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतियोगिताको तयारीबारे आइतबार बसोबास व्यवस्थापन उपसमितिले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले खेलाडी छनोट निष्पक्ष र क्षमताका आधारमा गर्न निर्देशन दिनुभयो। राम्रा प्रशिक्षकको व्यवस्था गरी पदक जित्ने गरी तयारी गर्न आग्रह गर्दै उहाँले प्रदेश सरकारले मागभन्दा बढी बजेट दिनसमेत तयार रहेको बताउनुभयो।

‘राम्रा खेलाडी छनोट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्। बजेटको समस्या हुँदैन,’ उहाँले भन्नुभयो, ‘दशौँ राष्ट्रिय खेलकुद हाम्रो लागि अवसर र चुनौती दुवै हो। सबै मिलेर चुनौतीको सामना गरौँ र अवसरको उपयोग गरौँ।’

मुख्यमन्त्री शाहीले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार र खेलकुद परिषद्को प्रयास मात्रै पर्याप्त नहुने भन्दै सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो। प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि आयोजना कर्णालीमा हुने भएकाले कुनै कमजोरी हुन नदिन सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले प्रतियोगिता फेरि स्थगित हुने आशंका नगर्न पनि आग्रह गर्नुभयो।

कार्यक्रममा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशको जिम्मेवारीमा रहेका चारवटै उपसमितिको काम सन्तोषजनक रहेको बताउनुभयो। बाँकी उपसमितिले गरिरहेका कामबारे पनि प्रदेश सरकारको चासो रहेको उल्लेख गर्दै उहाँले प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पूरा गर्न सबै पक्षलाई सक्रिय हुन आग्रह गर्नुभयो।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही र नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतले प्रतियोगिता व्यवस्थापनका विषयमा सुझाव दिनुभएको थियो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार