२०८३ कात्तिक १५ , आइतबार
गुटुमा १४ करोडको कृत्रिम ताल

बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य



सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ स्थित गुटुमा निर्माणाधीन जुम्ल्याहा मूल बहुउद्देश्यीय तालको काम अन्तिम चरणमा पुगेको छ। गुटुको खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले १४ करोड रुपैयाँ लगानीमा कृत्रिम ताल निर्माण गरिरहेको हो।

चार हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको तालको करिब ८० प्रतिशत काम सम्पन्न भएको जुम्ल्याहा मूल ताल संरक्षण तथा व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो। चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले थप तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

आयोजना सम्पन्न भएपछि चौकुने गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ का १ हजार ४०० भन्दा बढी घरधुरीले बाह्रै महिना सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ। यसबाट गुटुको उर्वर जमिनमा कृषि उत्पादन बढाउनुका साथै व्यावसायिक खेती विस्तारमा सहयोग पुग्ने स्थानीयको विश्वास छ।

जुम्ल्याहा मूल क्षेत्रमा यसअघि तीन करोड ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भइसकेको छ। उक्त आयोजनाबाट करिब ३० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानलाई व्यावसायिक तरकारी खेती गर्न सहज भएको चौकुने–७ का स्थानीय शिवराज न्यौपानेले बताउनुभयो।

ताल निर्माणले सिँचाइसँगै पर्यटन र वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउन सक्ने स्थानीयको अपेक्षा छ। चौकुने–८ का स्थानीय दृष्टि देवकोटाका अनुसार गुटुको उर्वर भूमिमा वर्षभरि सिँचाइ सुविधा पुगेमा कृषि उत्पादनसँगै क्षेत्रको समग्र विकासमा टेवा पुग्नेछ।

ताल निर्माणपछि यसको वरिपरि फुटपाथ, उद्यान र पर्यटकीय संरचना निर्माण गर्न थप लगानी आवश्यक रहेको न्यौपाने बताउनुहुन्छ। ताललाई सिँचाइमा मात्र सीमित नराखी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश र संघीय सरकारको थप सहयोग आवश्यक रहेको सहकारी अध्यक्ष बुढाक्षेत्रीको भनाइ छ।

आर्थिक वर्ष २०८१/०८२ देखि सुरु भएको आयोजना प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत कार्यान्वयन भइरहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार