सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन सुर्खेतका पत्रकारलाई खेलकुद रिपोर्टिङसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार–प्रसार उपसमितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा बुधबार वीरेन्द्रनगरमा एकदिने कार्यक्रम गरिएको हो।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका गतिविधिलाई व्यवस्थित रूपमा जनस्तरसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगितालाई भव्य र सफल बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सत्य र तथ्यमा आधारित सूचना जनतासम्म पुर्याउँदै कर्णालीमा हुन लागेको राष्ट्रिय खेल उत्सवलाई देशकै गौरवको उत्सव बनाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोर्टिङ प्रविधिमैत्री र सकारात्मक हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै प्रचार–प्रसार, व्यवस्थापन र सञ्चार समन्वयका लागि राखेप प्रचार–प्रसार उपसमितिले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो। खेलकुदको विकासमा खेल पत्रकारिता मेरुदण्डसरह रहेको उल्लेख गर्दै उहाँले पत्रकारको क्षमता अभिवृद्धिका लागि परिषद् सहकार्य गर्न तयार रहेको बताउनुभयो।
राखेप प्रचार–प्रसार उपसमितिकी संयोजक मोनालिसा खम्बुले खेलकुद रिपोर्टिङलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो। खेलकुद रिपोर्टिङ प्राविधिक र संवेदनशील विधा भएकाले नियम, अनुशासन र खेलको मर्म बुझेर समाचार लेख्नुपर्ने उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसीले प्रतियोगिताका गतिविधिलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन अभिमुखीकरण कार्यक्रम उपयोगी हुने बताउनुभयो। राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिताका समाचार संकलन, लेखन तथा सम्प्रेषणलाई व्यावसायिक बनाउन कार्यक्रम सहयोगी हुने उहाँको विश्वास थियो।
कार्यक्रममा राष्ट्रियस्तरका वरिष्ठ खेल पत्रकार तथा विज्ञहरूले खेलकुद समाचार संकलन र लेखन, मल्टिमिडिया प्रयोग, खेलका नियम तथा प्राविधिक ज्ञान र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकारलाई प्रशिक्षण दिएका थिए।
प्रतिक्रिया दिनुहोस्