सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा संघीय र प्रदेश सरकारका पदाधिकारीले सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाबाट काउन्टडाउन सुरु भएको घोषणा गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संयुक्त रूपमा काउन्टडाउन सुरु गर्नुभएको हो। आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने प्रतियोगितालाई निर्धारित मितिमै सम्पन्न गर्ने लक्ष्यसहित तयारीलाई तीव्र पारिएको छ।
यसअघि पाँचपटकसम्म मिति तोकिएर स्थगित हुँदै आएको प्रतियोगिता यसपटक कर्णालीका विभिन्न जिल्लामा आयोजना गर्ने सरकारको तयारी छ। प्रतियोगिताको तयारीलाई गति दिन संघीय शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतासहितका पदाधिकारी सुर्खेत पुगेका छन्।
मन्त्री पोखरेलले प्रतियोगिताको तयारीलाई थप तीव्र र व्यवस्थित बनाउन आफू सुर्खेत केन्द्रित भएको बताउनुभयो। पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन उहाँले सबै पक्षसँग सहयोगको आग्रह गर्नुभयो।

कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारी युद्धस्तरमा अघि बढाइएको मुख्यमन्त्री शाहीले बताउनुभयो। प्रतियोगितालाई ऐतिहासिक र भव्य बनाउन संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय र सहकार्यमा प्रदेश सरकार केन्द्रित रहेको उहाँको भनाइ छ।
सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको बताउनुभयो। उहाँका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। संघीय र प्रदेश सरकारका पदाधिकारीबीच तयारी तथा समन्वय बैठकसमेत तीव्र पारिएको छ।
प्रतियोगिताको मुख्य खेलस्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित १० हजार दर्शक क्षमताको अत्याधुनिक कर्णाली प्रदेश रंगशालामा राखेपले व्यवस्थापकीय तयारीलाई तीव्र बनाएको सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो।
यता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्लास्तरीय तथा प्रदेशस्तरीय खेलाडी छनोट, बन्द प्रशिक्षण, खेलस्थल व्यवस्थापन र पूर्वाधार सुधारका काम अघि बढाएको परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताउनुभयो। उहाँका अनुसार वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना गरी विभिन्न उपसमितिमार्फत तयारीलाई व्यवस्थित बनाइएको छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन्। ३२ खेल विधामा प्रतिस्पर्धा हुने दशौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला रहनेछ।
प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा देशभरका खेलाडी र खेलप्रेमीमा उत्साह थपिएको छ।
प्रतिक्रिया दिनुहोस्