२०८३ वैशाख ५ , शनिबार

युवाहरुले नै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री शाह



कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले युवाहरुले नै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न ड्रागन खेती स्थानीय स्रोत व्यक्ति तालिमको समापन गर्दै उनले यस्तो बताएका हुन् । ‘देशको समृद्धिका लागि कृषिमा आत्म निर्भर बन्नुपर्छ’ मन्त्री शाहले भने, ‘त्यसका लागि युवाहरु कृषि व्यवासयमा लाग्न आवश्यक छ ।’
कर्णाली प्रदेश जैविक विविधतायुक्त प्रदेश भएकाले यहाँ कृषिमा राम्रो संभावना रहेको भन्दै मन्त्री शाहले ड्रागन लगायत नवीनतम र उच्च मूल्यका फलफूल लगायत व्यावसायिक कृषि प्रवद्र्धनका लागि प्रदेश सरकारले अनुदान तथा व्याज अनुदानजस्ता प्रोत्सहानका कार्यक्रम सञ्चालन गरेको बताए ।
हेल्भेटास नेपालको सहयोगमा ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतले स्थानीय स्रोत व्यक्तिका लागि २१ दिने तालिम दिएको हो । तालिमले ड्रागन खेती विस्तार र व्यवसायमा महत्वपूर्ण सहयोग पुग्ने संघका अध्यक्ष महेन्द्र खनालले बताउनुभयो । सरकारले बजारीकरणमा सहयोग गरेमा उत्पादनमा किसानलाई हौसला मिल्ने अध्यक्ष खनालको भनाइ छ । प्रमुख प्रशिक्षक टिकाराम थापाले सैदान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइएका थिए ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार