
सुर्खेत । संविधान जारी भएको दश वर्षपछि सुर्खेतका चार राजनीतिक दलहरुले पहिलो पटक संयुक्त रुपमा संविधान दिवश मनाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिलो पटक संयुक्त रुपमा संविधान दिवश मनाएका छन् । संविधान र राष्ट्रिय दिवशको अवसर पारेर दलहरुले अन्तरसम्बाद कार्यक्रम नै गरेका छन् । कार्यक्रममा बोल्ने अधिकाँश व्यक्ताहरुले जेनजीको आन्दोलनपछि मुलुकमा लोकतन्त्र, संविधान र नागरिक अधिकार खतरामा परेको भन्दै सबै दलहरुले एक जुट भएर संविधान र लोकतन्त्र विरोधी गतिविधिहरुको प्रतिबाद गर्नुपर्ने बताएका थिए । नेपालमा अहिले नै राजनीतिक दलहरुको विकल्प नभएको भन्दै व्यक्ताहरुले ६ महिना फेरि यी नै दलहरुले नै मुलुकको नेतृत्व गर्ने र विगतमा भएगरेका गल्ती कमजोरीलाई सच्याउने धारणा राखेका थिए ।

कार्यक्रमका सहभागी वक्ताहरूले संसद् विघटन असंवैधानिक भएको भन्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन् । नेताहरूले जेनजी पुस्ताको आन्दोलनमा भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, पूर्वमुख्यमन्त्री एवम् कांग्रेस कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाही र नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा राखेका राखेका थिए । उनीहरूले संविधानको मर्म र भावनाअनुसार जेनजी पुस्ताका मागलाई सम्बोधन गर्न सकिने भन्दै, ध्वंसात्मक गतिविधि र संसद् विघटनजस्ता घटनाले मुलुकको विकास यात्रामा गम्भीर चुनौती थपेको बताएका छन् । यसैबीच चार वटै राजनीतिक दलहरुले शुक्रबार साँझ वीरेन्द्रनगरमा दीप प्रज्ज्वलन समते गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्