२०८३ भदौ २९ , सोमबार
सुर्खेतमा दुर्गा माता प्राणप्रतिष्ठा समारोह हुँदै

भैरव मन्दिरमा बडिमालिका माताको मूर्ति र त्रिसुल राखिने



सुर्खेत । भैरव देवता धार्मिक समाजले वीरेन्द्रनगर–४ भैरवस्थानमा दुर्गा माताको मूर्ति प्राणप्रतिष्ठा कार्यक्रम गर्ने भएको छ । असोज ६ गते अर्थात सोमबारदेखि सुर्खेतको भैरवस्थानमा दुर्गा माता प्राणप्रतिष्ठा समारोह गर्न लागिएकाे हो । भैरव देवता धार्मिक समाजको आयोजनामा ‘भैरवस्थानमा दुर्गा माता पूर्ति प्राणप्रतिष्ठान कार्यक्रम’ गर्न लागेको भैरव देवता धार्मिक समाजका अध्यक्ष युवराज पन्तले जानकारी दिए । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा पारेर कार्यक्रम गर्न लागिएको हाे । भैरव मन्दिर परिसरमा भैरव बडिमालिका माताको मूर्ति र त्रिसुल राखिने छ । दुर्गा माताको मुर्ती १ सय ५० केजी र ४ फिट अग्लो पित्तल धातुबाट बनेको अध्यक्ष पन्तले जानकारी दिए । असोज ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा निःशुल्क प्राणप्रतिष्ठा गर्न पाइने छ ।
जस अनुसार पहिलो दिन मन्दिर परिषरदेखि गाडी तथा मोटरसाइकल र्यालीसहित कालीका मन्दिर, पातलगंगा पुलहुँदै दुर्गा माता मन्दिर भैरेस्थानमा भव्य शोभायात्रा तथा प्राणप्रतिष्ठा कार्य गरिने भएको छ।
कार्यक्रमअन्तर्गत असोज ७ गते माताजीलाई अन्नबास, असोज ८ गते मधुपर्क बास, असोज ९ गते मिठाइन्न बास, असोज १० गते फलादी बास, असोज ११ गते दृश्य बास, असोज १२ गते पुष्प बास, असोज १३ गते ब्राह्मणहरूले स्वस्ति वाचनसहित मन्दिरमा माताको प्राणप्रतिष्ठा गर्नेछन् ।
त्यसैगरी, असोज १४ गते अष्टमी दुर्गा पूजाको आयोजना गरिनेछ भने असोज १५ गते कन्या पूजा र पूर्णाहुति गरी कार्यक्रम सम्पन्न गरिने समाजले जनाएको छ । भैरव देवता धार्मिक समाजले स्थानीय भक्तजनलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार