काठमाडाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति र विस्थापनको कारुणिक कथालाई समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ शीर्षकको गीत सार्वजनिक भएको छ। बाढीका कारण घरबारविहीन बनेका परिवार, बेपत्ता आफन्तको पर्खाइमा रहेका पीडितहरूको वेदना, ध्वस्त भौतिक संरचना र स्थानीयवासीका भत्किएका सपनाहरूलाई गीतमा मसिनो गरी उनिएको छ।

गीतमा प्राकृतिक विपत्तिले निम्त्याएको मानवीय क्षतिलाई मात्र नभई पछिल्लो समय चुलिँदै गएको जलवायु परिवर्तनको असर, अव्यवस्थित विकासका नाममा नदी तथा हिमाली क्षेत्रमा भइरहेको दोहन र विपद् पूर्वतयारीप्रति राज्य संयन्त्रले देखाउने उदासीनतामाथि पनि तीखा प्रश्न उठाइएको छ। डी. डी. पन्तको शब्द रचना रहेको यस गीतले विपत्तिले परिवार र समुदायमा पार्ने दीर्घकालीन प्रभावका साथै प्रकृति र मानवीय गतिविधिबिचको बिग्रँदो सम्बन्धलाई सञ्चार गर्न खोजेको छ।
गीतकार पन्तका अनुसार प्रविधिको प्रयोग गर्दै गीतको स्वर र सङ्गीत सुनोडटकम (Suno.com) मार्फत तयार गरिएको हो। दृश्य संयोजनका हिसाबले पनि प्रभावकारी बनेको गीतको भिडियोमा भोटेकोशीमा बाढी आउँदाको त्रासद् अवस्था, बाढीले पुर्याएको ठूलो क्षति र बाढीपछिको कारुणिक दृश्यहरूलाई समावेश गरिएको छ। सुभाष पन्तले सम्पादन गरेको उक्त भिडियोले दर्शकलाई प्राकृतिक विपत्तिको संवेदनशीलता र वातावरणीय संरक्षणको आवश्यकताप्रति सजग गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्