२०८३ भदौ २७ , शनिबार
प्रहरीकाे सक्रियता

पेस्तोलसहित दुइ युवा पक्राउ



सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अटोमेटिक (स्वचालित) पेस्तोल, म्याग्जिन र पाँच राउन्ड जीवित गोलीसहित दैलेखका दुई जना युवालाई नियन्त्रणमा लिएको छ। अघिल्लो कसुरको अनुसन्धानका क्रममा बयान लिँदा आरोपीहरूले दैलेखको खोलाको झाडीमा लुकाएर राखेको अवस्थामा सो आधुनिक हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–५, का २७ वर्षिय भुपेन्द्र शाही र सोही पालिकाका–६, का ३० वर्षिय भिमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४ राकम खोलीबजार नजिकै खोल्सामा पेस्तोल लुकाइछिपाइ राखेको बताएका थिए ।

​उनीहरूविरुद्ध गत भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानासहितको प्रतिवेदन जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो। सोही कसुरमा नियन्त्रणमा रहेका आरोपीहरूसँग थप सोधपुछ गर्ने क्रममा अवैध हतियारको विषय बाहिर आएको हो।

​अभद्र व्यवहारसम्बन्धी मुद्दामा हिरासतमा रहेका भूपेन्द्र शाहीले अनुसन्धान अधिकृतहरूसँगको सोधपुछका क्रममा आफूले दैलेखको आठबीस नगरपालिका–४ स्थित राकम खोलीबजार नजिकै रहेको एक खोल्सामा पेस्तोल र गोली लुकाएर राखेको बयान दिएका थिए।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार हतियारसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ।

​”अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हतियार लुकाएको सूचना पाएपछि प्रहरी टोलीले राकम पुगेर अटोमेटिक पेस्तोल र गोली बरामद गरेको हो,” डीएसपी बोहराले भने, “अहिले दुवै जनालाई नियन्त्रणमा राखेर हातहतियार खरखजाना कसुरअन्तर्गत मुद्दा दर्ता गरी हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान अघि बढाएका छौँ।”

​प्रहरीले उक्त हतियार कुनै आपराधिक गतिविधिमा प्रयोग भएको थियो वा प्रयोग गर्ने योजना थियो भन्नेबारे पनि सुक्ष्म छानबिन भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार