२०८३ भदौ २७ , शनिबार
पाठ्यक्रम प्रारूप गर्न सरोकारवालाको माग

रोजगारी, सीप र स्थानीय परिवेशअनुकूल शिक्षामा जोड



सुर्खेत। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ लाई आगामी १५ देखि २० वर्षमा देशलाई आवश्यक पर्ने जनशक्तिको स्पष्ट प्रक्षेपणका आधारमा व्यापक परिमार्जन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सरोकारवालाहरूले विशेष जोड दिएका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कर्णाली प्रदेश, सुर्खेतद्वारा आयोजित ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप सम्बन्धी सुझाव सङ्कलन कार्यक्रम’ मा सहभागीहरूले विद्यमान पाठ्यक्रमलाई समयानुकूल, व्यावहारिक, सीपमूलक र प्रत्यक्ष रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

सुर्खेतमा आयोजित उक्त विशेष अन्तरक्रिया कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा शिक्षा क्षेत्रका विभिन्न ६३ जना सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले केवल अन्तर्राष्ट्रिय अभ्यासको अन्धाधुन्ध अनुसरण गर्नुभन्दा नेपालको आफ्नै विशिष्ट सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेशअनुकूलको पाठ्यक्रम विकास गरिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले तय गरेका शिक्षाका राष्ट्रिय उद्देश्यहरू र तिनको व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको टिप्पणी गरे। पाठ्यक्रम निर्माण गर्दा जति गम्भीरता देखाइन्छ, त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमनमा समान प्राथमिकता दिन नसकिएको सहभागीहरूको भनाइ थियो। शिक्षाका राष्ट्रिय उद्देश्य र कक्षाकोठामा हुने शिक्षण-सिकाइ क्रियाकलापबीच प्रत्यक्ष सामन्जस्यता कायम गरिनुपर्ने र पाठ्यक्रम तर्जुमा गर्नुका साथै त्यसलाई देशभरका विद्यालयमा समान रूपमा लागू गराउने संयन्त्र र कार्यान्वयन पक्षलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रारम्भिक बालविकास तथा शिक्षा (ECCE/ECD) लाई राष्ट्रिय पाठ्यक्रमले अझ स्पष्ट र वस्तुनिष्ठ रूपमा सम्बोधन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। हाल सामुदायिक र संस्थागत (निजी) विद्यालयहरूमा सञ्चालित बालविकासका अभ्यासहरूबीच ठूलो भिन्नता र असमानता रहेकाले त्यसलाई पाठ्यक्रममार्फत नै एकीकृत र व्यवस्थित बनाउनुपर्ने सुझाव दिइयो।

पाठ्यक्रम निर्माण र विषयवस्तु छनोट प्रक्रियालाई अझ बढी समावेशी र जीवनोपयोगी बनाउनुपर्ने माग कार्यक्रममा गरियो। कतिपय अवस्थामा स्वयं शिक्षकहरू नै पाठ्यक्रम विकास केन्द्र (CDC), यसका नीतिहरू र पाठ्यक्रमको मूल मर्मबारे पर्याप्त जानकार नरहेको यथार्थ प्रस्तुत गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धिमा जोड दिइयो। शिक्षकहरूका लागि पाठ्यक्रमसम्बन्धी गहन प्रबोधीकरण (Orientation) र निरन्तर क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, पाठ्यक्रमले परिकल्पना गरेको सिकाइ उपलब्धि र कार्यान्वयनको ढाँचासँग मेल खाने गरी आधुनिक तथा व्यावहारिक मूल्याङ्कन प्रणालीको विकास गरिनुपर्ने बताए ।

विद्यार्थीको बौद्धिक विकासका साथै शारीरिक र मानसिक स्वास्थ्यलाई समेत पाठ्यक्रमले एकीकृत रूपमा समेट्नुपर्ने सहभागीहरूको भनाइ थियो। शिक्षालाई केबल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी बालबालिकाको सर्वाङ्गीण विकाससँग जोड्न नयाँ क्षेत्रहरू समावेश गर्न सुझाव दिइएको छ। मानसिक स्वास्थ्य (Mental Health), खेलकुद, कला र सङ्गीतलाई विद्यार्थीको व्यक्तित्व विकासको अभिन्न अङ्ग मान्दै अनिवार्य सिकाइ क्षेत्रका रूपमा पाठ्यक्रममा समावेश गरिनुपर्ने, विद्यालय तहका सबै श्रेणी र तहका पाठ्यक्रममा जीवनोपयोगी (Life Skills) तथा व्यावसायिक सीप सिकाउने व्यवहारिक विषयवस्तुहरू समेटिनुपर्नेमा जाेड दिएका थिए । प्याब्सन कर्णाली प्रदेशले सङ्कलन गरेका यी बहुआयामिक सुझावहरूलाई एकीकृत गरी पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा मन्त्रालयसमक्ष पेस गरिने जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार