२०८३ भदौ २७ , शनिबार
‘वाईजीजीपी’ को नवौँ साधारणसभा

सुशासन र सामाजिक जवाफदेहिताका लागि क्रियाशील 



सुर्खेत । सुशासन प्रवर्द्धन र सामाजिक जवाफदेहिताको क्षेत्रमा सक्रिय संस्था ‘सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेत’ (वाईजीजीपी) को नवौँ वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। संस्थाले विगत नौ वर्षदेखि सञ्चालन गरेका विभिन्न अभियान तथा यसका उपलब्धिहरूको गहिरो समीक्षा गर्दै साधारणसभा सम्पन्न गरेको हो।

​साधारणसभामा संस्थाले स्थापनाकालदेखि हालसम्म सुशासन, सामाजिक जवाफदेहिता, युवा सशक्तीकरण, स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन, विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूको विस्तृत समीक्षा गरेको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले सुशासन कुनै एक निकायको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताए। स्थानीय तहमा योजना निर्माणदेखि सेवा प्रवाहसम्म नागरिकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले युवालाई विकास र सामाजिक उत्तरदायित्वको अभियानमा जोडिन आग्रह गरे। यस्तै, भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि सरकारी निकाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको बताए।

​कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरूले राज्यका सेवा प्रवाहलाई सुधार गर्न सहजीकरण र साझेदारीको भूमिका निर्वाह गरिरहेको भए पनि राज्यबाट हुने व्यवहार अझै पनि विभेदपूर्ण रहेको गुनासो गरे। उनले सामाजिक न्याय, समावेशीकरण तथा महिला र युवाको नेतृत्व विकासलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए। सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक किशोर जङ्ग शाह र प्लान इन्टरनेसनल नेपालका विनय ज्ञवालीले कर्णालीबाट सुरु भएको युवाको यो अभियान देशका विभिन्न जिल्लासम्म विस्तार हुनु निकै सराहनीय कार्य भएको बताए। नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष मधुवन बिसीले सार्वजनिक निकायलाई नागरिकप्रति थप उत्तरदायी बनाउन तथ्यमा आधारित सूचना प्रवाह र निरन्तर खबरदारीको खाँचो औँल्याए। त्यस्तै, युवा परिषद् सुर्खेतका पूर्वअध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र सीमित नराखी समाज परिवर्तनका वास्तविक संवाहकका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

​सभामा संस्थाकी अध्यक्ष रिता चन्दले सुशासन प्रवर्द्धन र युवाका सवालमा पैरवी गर्ने उद्देश्यले स्थापित संस्था आफ्नो स्थापनाकालदेखि नै लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको बताइन्। कार्यकारी निर्देशक घनश्याम केसीले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लासहित २३ जिल्लाका ३३ स्थानीय तहमा १९ वटा कार्यक्रम तथा परियोजना सफलतापूर्वक सञ्चालन गरिएको जानकारी दिए। यसैगरी, कोषाध्यक्ष मेलिना विसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत एक वर्षमा विभिन्न परियोजनाहरूका लागि कुल १ करोड १४ लाख ११ हजार ४२६ रुपैयाँ खर्च भएको छ।

साधारणसभाको अवसर पारेर संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रम तथा परियोजनाहरूको सामाजिक परीक्षणसमेत सम्पन्न गरिएको थियो। नागरिक समाजका अगुवा नवीन शाहीले सहजीकरण गरेको उक्त परीक्षणमार्फत कार्यक्रमहरूको प्रगति, उपलब्धि, खर्च विवरण र लक्षित समुदायमा परेको प्रभावबारे व्यापक समीक्षा गरिएको थियो।

​साथै, संस्थागत विकास, सुशासन प्रवर्द्धन र सामाजिक जवाफदेहिताको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका संस्थाका कार्यक्रम प्रबन्धक खगेन्द्र सिजापतिलाई यसै अवसरमा विशेष सम्मान प्रदान गरिएको थियो। साधारणसभाले आगामी दिनमा पनि युवाको नेतृत्व र सहभागितालाई थप सुदृढ गर्दै सुशासन तथा सामाजिक रूपान्तरणको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार