
सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की घुस रकम सहित पक्राउ परेका छन् । उनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतस्थित आयोगको टोलीले बिहीबार राति वीरेन्द्रनगरबाट रंगेहात पक्राउ गरेको हो । अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी धर्म बुढाका अनुसार कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरिएको हो। उनले भने, “उनीमाथि थुप्रै सूचनाको आधारमा निगरानी बढाइएको थियो । अन्ततः घुस लिइसकेकै अवस्थामा नियन्त्रणमा लिन सफल भयौं ।” पक्राउ परेका कार्कीलाई अहिले आयोगले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ । अख्तियारले प्रारम्भिक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्थानीय स्रोतका अनुसार कार्कीविरुद्ध यसअघि पनि सेवाग्राहीसँग अनियमित कार्यशैली अपनाएको गुनासो आएका थिए। गाउँपालिकामा विभिन्न भुक्तानी र लेखापरीक्षणका काममा सेवा ढिलो गर्ने र सहज प्रक्रिया नअपनाई घुमाउरो बाटो बनाउने गरेको आरोप पनि छ । यसै कारण सेवाग्राहीहरू असन्तुष्ट हुँदै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि केन्द्रसम्मका सार्वजनिक पदमा आसीन व्यक्तिहरूलाई घुस र भ्रष्टाचारको आरोपमा पक्राउ गर्ने कार्यलाई तीव्र पारेको छ । आयोगले यसलाई सुशासनको लागि महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्