
सुर्खेत । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकमा देखिएको पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिबाट सबैले गम्भीर पाठ लिनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
सात दशकभन्दा लामो संघर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभामार्फत जारी भएको नेपालको संविधानलाई राष्ट्रिय उपलब्धीका रूपमा स्मरण गर्दै ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । हालैका जेन–जी पुस्ताका प्रदर्शनमा ज्यान गुमाउनेप्रति दुःख प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
मुख्यमन्त्री कडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारका मागसहित भएको प्रदर्शनपछि देखिएका आगजनी, हिंसा र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्यमा चुनौती थपेको बताएका छन्। उनले भने, “लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना गर्न नसकिने घटनाले लोकतन्त्र र समृद्धिको पक्षधरलाई फेरि राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाउँमा उभिन बाध्य बनाएको छ ।”
अहिले जेन्जी पुस्ताले उठाएका माग संविधानभित्रै समाधानयोग्य छन् र आवश्यक परे संशोधनमार्फत संविधानलाई अझ परिस्कृत बनाउन सकिने सम्भावना पनि रहेको मुख्मयन्त्रीले शुभकामना मन्तव्यमा उल्लेख गरेका छन् । उनले हिंसात्मक आन्दोलनभन्दा संवैधानिक र शान्तिपूर्ण बाटोमार्फत मात्र माग पूरा गर्न सकिने स्पष्ट उल्लेख पारेका छन् । प्रदेश संरचना संघीयताको पहिचान भएको भन्दै त्यसमा उठेका आलोचनालाई सुधारात्मक ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिएका कडेलले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई मजबुत बनाउँदै नागरिकका अधिकारप्रति जिम्मेवार बन्नुपर्नेमा विश्वास व्यक्त गरे ।
शुभकामना सन्देशको अन्त्यमा मुख्यमन्त्री कडेलले भनका छन्, “अहिले देखिएको अन्यौलता र अस्थिरतालाई संवोधन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन, उपलब्धीको रक्षा गर्न र समृद्धिको दिशातर्फ अगाडि बढ्न सबै दल, नागरिक समाज र युवा पुस्ताले धैर्य र दृढ विश्वाससहित योगदान दिनुपर्ने समय आएको छ ।”
प्रतिक्रिया दिनुहोस्