
सुर्खेत । जेनजीको आन्दोलनबाट कर्णाली प्रदेशसभामा झण्डै ४ करोड बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभामा कुल तीन करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यो प्रारम्भीक क्षति हो । सचिवालयका जिन्सी शाखाका नायव सुब्बा कपिलदेव भण्डारीका अनुसार आन्दोलनबाट इलेक्ट्रोनिक्स सामग्रीमा मात्रै दुई करोड २० लाख २० हजार ३ सय बराबरको क्षति भएको छ । प्रदेशसभाको नियमित बैठकहरुको प्रत्येक्ष प्रसारणका लागि सम्पूर्ण इलेक्ट्रोनिक्स सामग्रीहरु नष्ट भएपछि यति धेरै क्षति हुन पुगेको छ । आगलागीबाट प्रदेशसभामा सम्पूर्ण इलेक्ट्रोनिक्स सामग्रीहरु काम नलाग्नेगरी नष्ट भएका छन् । यी सामग्रीहरु मर्मत गरेर प्रयोग गर्न सक्ने अवस्थामा छैनन ।
त्यस्तै भवनतर्फ पनि एक करोड बढीको क्षति पुगेको छ । भण्डारीका अनुसार प्रदेशसभामा भवनतर्फ मात्रै एक करोड ६ लाख ५७ हजार ४ सय ९० रुयैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट बैठक कक्ष रहेको भवन, सभामुख, उपसभामुख, दलका नेताहरुको कार्यकक्ष, विषयगत समितिका बैठक कक्ष र संसदीय दलका कार्यालयसहित सम्पूर्ण संरचनामा आगजनी र तोडफोड गरेका थिए ।
त्यस्तै फर्निचर सामग्रीतर्फ पनि ठूलो क्षति भएको छ । फर्निचरका सामग्रीतर्फ ५३ लाख ९८ हजार ८ सय १२ रुपैयाँ क्षति भएको हो । आन्दोलनकारीले पदाधिकारी, संसदको बैठक कक्ष, संसदीय दलका कार्यकक्ष, विषयगत समितिको कार्यालयमा रहेको सम्पूर्ण फर्निचर सामग्रीमा आगजनी गरेका थिए । प्रदेशसभा सचिवालयका कुनै पनि फर्निचरका सामग्रीहरु खरानी भएका छन् ।
त्यस्तै सवारी साधनतर्फ ४ लाख २८ हजार नौँ सय र अन्यतर्फ ९ लाख ६७ हजार ३ सय ९२ रुपैयाँ बराबरको क्षति भएको नायव सुब्बा भण्डारीले जानकारी दिए । सवारी साधानतर्फ प्रदेशसभाको एउटा बाइक र एउटा स्कुटीमा आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्