
सुर्खेत । जेनजी आन्दोलनपछि सुर्खेतमा नेकपा एमाले तंग्रीन थालेको छ । आन्दोलनपछि राजनीतिक दलका प्राय ः गतिविधि ठप्प रहेको बेला एमाले पुनः उठ्ने गरी गतिविधि अगाडि बढाएको छ । एमाले सुर्खेतका नेताहरुले फेरि नागरिकको मन जितेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
आन्दोलनकारीको तोडफोड र आगजनीबाट खरानी भएको पार्टी कार्यालयमै एमालेले बैठक आयोजना गरेको थियो । सोही बैठकमा एमालेका नेताहरुले आन्दोलकै कारण कमजोर बन्नुपर्ने अवस्था नरहेको बताएका थिए । भएका गल्ती कमजोरीलाई सच्याउँदै जनताको मन जित्नेगरी अगाडि बढ्न नेताहरुले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

कार्यक्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिंगो देश र व्यवस्थाविरुद्ध भएको प्रष्ट पारे । उनले जेनजी आन्दोलन र त्यसयता विकसित भएका घटनाक्रमले त्यो पुष्टि गरेको बताए ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले आन्दोलन अघि यो त सरकारविरुद्धको प्रर्दशन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्वले तिनीहरुलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गरे । ‘२०७२ को संविधान अर्धमुच्र्छित अवस्थामा पुगिसकेको छ, सामान्य अवस्थामा हुन्थ्यो भने अदालतले ब्युँझाउन सक्थ्यो, तर आज अदालतले के गर्छ भन्न सकिने अवस्था छैन्, उनले भने, ‘बरु हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ ध्यान दिऔं, जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गरौं, कमजोरीको सम्बन्धित पार्टी कमिटीमा आत्मसमिक्षा गरौं, त्यसले पार्टी पनि बन्छ र व्यवस्था जोगाउन हौसला मिल्दछ ।’

त्यस्तै एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले विगतमा एमालेविरुद्ध प्रहार गरिरहेको शक्तिले नै यसपटक जेनजीलाई प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मास्न थालेको घटनाक्रमलाई सामान्य रुपले बुझ्न नहुने धारणा राखे । कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रतिगामी तत्वले जेनजीका नाउमा हजारौं पार्टी कार्यकर्ताको लगानीबाट बनेको कार्यालय जलाएको बताए । कार्यक्रममा बोल्ने अन्य नेताहरुले पनि अब पार्टीले जनताको मन जित्नेगरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्