२०८३ वैशाख ५ , शनिबार
मुख्मयन्त्री र सुरक्षा निकायको बैठक

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता



सुर्खेत । जेनजी पुस्ताको आन्दोलनले मुलुकको शान्ति सुरक्षा कमजोर छ भन्ने प्रमाणित गरेको छ । आन्दोलन रोकिए पछि नागरिकहरु अझै त्रसित छन् । दुई दिनमै शक्तिशाली सरकार ढलेपछि देशमा कति बेला के हुन्छ भन्ने एकीन छैन । एक हिसावले भन्दा शान्ति सुरक्षा बलियो छ भनेर नागरिकहरु ढुक्क हुने अवस्था छैन ।
अहिलेको अवस्थामा नागरिकले सरकार र सुरक्षाकर्मी छ भन्नेर ढुक्क हुने अवस्था छैन । यही अवस्थाको अन्त्यका लागि कर्णाली प्रदेश सरकारले शान्ति सुरक्षालाई अझ बलियो बनाउने प्रयास गरेको छ । विशम परिस्थितिमा कर्णाली प्रदेश सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने प्रयास गरेको हो । यही क्रममा मंगलबार मुख्यमन्त्री यामलाल कडेलले प्रदेशस्थित सुरक्षा निकायहरुसँग छलफल गरेका छन् । छलफलपछि सुरक्षा निकाय र सरकार दुबै मिलेर नागरिकलाई शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सबै सुरक्षा निकायले अनपेक्षित रुपमा आन्दोलनले उग्र रुप लिँदा धेरै संरचनाहरुमा तोडफोड भएको भन्दै बताएका छन् ।
मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरी काम गर्न चारै वटै सुरक्षा निकायलाई आग्रह गरे ।
मुख्यमन्त्री कडेलले उदेश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरि आफना गतिविधि संचालन गर्न चारैवटै सुरक्षा निकायलाई सुझाव दिए । मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस।’ मुख्यमन्त्री कडेलले थप शान्ति सुरक्षा विग्रन नदिन प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरुलाई आश्वस्त पारे । उनले भने, ‘तपाईहरुको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्र्दभमा तपाईहरुलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ । ’
मुख्यमन्त्री कडेलले शान्तिपूर्ण प्रर्दशनबाहेक हिसांत्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए । उनले भने, ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सिमित जनशक्तिले आफनो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईहरुको नियन्त्रणमा रहेन।’ मुख्यमन्त्री कडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि दिए । मुख्यमन्त्री कडेलले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडी बढ्नुपर्ने धारणा राखे । मुख्यमन्त्री कडेलले भने, ‘आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरे अनुसन्धान गर्न र कानुन बमोजिम कारवाही गर्न तपाईहरुलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनुस ।’ छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षाका प्रमुखहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार