२०८३ वैशाख ५ , शनिबार
सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल

चामलमा प्रतिकिलो ५ र तेलमा ७ रुपैयाँ छुट



सुर्खेत । सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कम्पनीले वीरेन्द्रनगरस्थित आफ्नो प्रादेशिक कार्यालय परिसरभित्रै पसल सञ्चालन सुरु गरेको कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार अहिले पसलमा ६ प्रकारका चामल, ३ प्रकारका खाने तेल र चिनी उपलब्ध छन् । यी वस्तुमा सामान्य बजार मूल्यभन्दा सस्तो दरमा बिक्री भइरहेको छ ।
कात्तिक १० सम्म सञ्चालन हुने सुपत मूल्य पसलमा चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । त्यस्तै खाने तेलमा प्रति लिटर ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । सुपथ मूल्य पसलमा उपलब्ध वस्तुहरू अरुवा मोटा चामल, अरुवा मोटा (फोर्टिफाइड) चामल, अरुवा सोना मन्सुलि चामल, अरुवा सोना मन्सुलि (फोर्टिफाइड) चामल, स्टिम जिरा मसिनो चामल र स्टिम जिरा मसिनो (फोर्टिफाइड) चामल उपलब्ध छ ।
त्यस्तै खाने तेलमा सूर्यमुखी तेल, सोयाबिन तेल, तोरी तेल रहेको छ । पसल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ । भीड व्यवस्थापनका लागि अनलाइन अर्डर र होम डेलिभरीको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच साल्ट ट्रेडिङ्ग कर्पोरेसन शाखा सुर्खेतले यस वर्ष नुनमा २ रुपैयाँ छुट दिने जनाएको छ । तर केन्द्रबाट चिनी नआएकाले हाललाई नुन मात्र बिक्री भइरहेको कार्यालय प्रमुख नवराज अकौलियाले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार