२०८३ साउन १२ , मंगलबार
शाही र कडेलको संयुक्त वक्तव्य

जेनजी आन्दोलनमा विध्वङ्स मच्चाउनेलाई कारबाही गर्न अपिल



सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा दलका नेता जीवनबहादुर शाही र नेकपा (एमाले) कर्णाली प्रदेशका मुख्यमन्त्री तथा दलका नेता यामलाल कडेलले जेनजी आन्दोलनमा विध्वङ्स मच्चाउनेलाई कारबाही गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै शाही र कँडेले यस्तो अपिल गरेका हुन ।
आयोजकहरूले शान्तिपूर्ण घोषणा गरे पनि सर्वोच्च अदालत, संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, प्रदेशसभा भवनलगायतका संरचना आक्रमणमा परेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । साथै नागरिकको जिउधनको सुरक्षाका लागि सुरक्षा निकायलाई प्रभावकारी ढंगले परिचालन गर्न आह्वान गरिएको छ ।
संयुक्त वक्तव्यमा हाल देखिएको असन्तोष र युवाबीच बढ्दो निराशालाई गम्भीरतापूर्वक सम्बोधन गर्न राज्य संयन्त्रले आत्मसमीक्षा गर्दै सुधार गर्नुपर्नेमा जोड दिइएको छ । “प्राप्त उपलब्धीको रक्षा गर्दै थप एकताबद्ध भई दृढ विश्वासका साथ अगाडि बढ्नु समयको माग हो,” वक्तव्यमा भनिएको छ ।
राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि गम्भीर चुनौती खडा भएको परिस्थितिमा सबै दल, नागरिक समाज र युवापुस्तालाई धैर्य राखी संविधान र लोकतान्त्रिक मूल्य मान्यताअनुसार एकताबद्ध हुन अपिल गरेका छन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित जेन–जी पुस्ताले सडकमा गरेको प्रदर्शन हिंसात्मक मोड लिँदा देशभर ७० भन्दा बढी नागरिकको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । सार्वजनिक, निजी तथा व्यापारिक संरचनासहित ऐतिहासिक भवनहरूमा आगजनी, तोडफोड र लुटपाटका घटनाले मुलुक मर्माहत बनेको छ । शाही र कँडेलले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पीडित परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको वक्तव्यमा उल्लेख छ ।

यस्ताे छ विज्ञप्ति

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार