२०८३ वैशाख ५ , शनिबार
जेनजी आन्दोलन

आगजनी र तोडफोड गर्नेहरु खोज्दै कर्णाली प्रदेशसभा



जेनजी आन्दोलनको क्रममा कर्णाली प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोड गर्नेहरुको खोजी गर्न थालेको छ । प्रदेश सभा सचिवालयले सूचना निकाल्दै सभा र सचिवालयबाट आन्दोलनको फाइदा उठाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, लुटपाट गर्ने तथा चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी नै गरेको छ । सचिवालयले अनुसन्धानको लागि फोटो, भिडियो लगाएतका सामग्री पठाई सहयोग गर्ने पनि आग्रह गरेको छ । त्यस्तो सूचना दिने व्यक्तिहरूको परिचय भने पूर्ण रूपमा गोप्य राख्ने छ ।
जेनजीहरुले प्रदेशसभा र सचिवालयबाट सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गरेको कुराको जानकारी प्राप्त भएकोले सचिवालयले सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरु गरेको जनाएको छ । आन्दोलनको क्रममा सभा तथा सचिवालयमा भएको तोडफोड, आगजनी, लुटपाट वा चोरीको समयमा फोटो वा भिडियो खिचेको वा त्यस्ता सामग्रीहरु सम्बन्धित व्यक्तिहरूबाट फेला परेका वा पहुँच भएको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा कर्णाली प्रदेश सभा सचिवालयलाई ईमेलमार्फत् (karnalipradesh@gmail.com) उपलब्ध गराउन समेत प्रदेशसभा सचिवालयले अनुरोध गरेको छ।

सूचना हेर्नुहाेस्

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार