
सुर्खेत । जेनजीले गरेको आन्दोलनका कारण सुर्खेतमा लामो समय कित्ताकाट रोकिने देखिएको छ । आन्दोलनकारीले नापी कार्यालयका सम्पूर्ण कागजातहरु खरानी हुनेगरी आगो लगाएपछि कम्तिमा ६ महिनादेखि वर्षदिनसम्म कित्ताकाट रोकिने नापी कार्यालयले जनाएको छ । आगजनी र तोडफोडबाट नापी कार्यालयका सम्पूर्ण रेकर्डहरु ध्वस्त भएका छन् । यही कारण तत्काल सेवा प्रवाह गर्न सक्ने अवस्था छैन । नापी कार्यालयका सूचना अधिकारी लालप्रसाद चपाईले जानकारी दिए । ‘कार्यालयका सम्पूर्ण कागजपत्र जलेका छन्, नापनक्सा सम्बन्धी कुनै पनि प्रमाणहरु बाँकी छैनन्’ उनले भने, ‘काठमाडौँमा रहेको सर्बरमा केही डाटा त हुन सक्छन्, तर सबै डाटाहरु छैनन ।’ सेवा सञ्चालन हुन कम्पत्तिमा ६ महिनादेखि वर्षदिनसम्म लाग्न सक्ने सूचना अधिकारी चपाइले बताए ।
कार्यालयमा आगजनी हुँदा ४३ वर्षदेखिका सम्पूर्ण रेडर्क ध्वस्त भएका छन् । यद्यपी सुर्खेतमा केही समय अघि नै किताकाट सञ्चालन हुन सकेको थिएन । सबै रेकर्डहरु अनलाइन प्रविधिमा राख्ने उद्देश्य अनुसार केही हस्त लिखित रेकर्ड पनि कार्यालयमा राखिएका थिए । तर आन्दोलनकारीले रेकर्ड फाइल राख्ने स्टोरमै आगजनी गरेका छन् । सोही कारण कम्तिमा ६ महिनादेखि वर्षदिनसम्म सेवा प्रवाह गर्न नसकिने कार्यालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्