
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी पुस्ताले थालेको आन्दोलनपछि नेपालको संविधान घाइते अवस्थामा पुगेको बताएका छन् । ‘अहिले संविधान घाइते अवस्थामा छ’ आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कँडेलले भने, ‘हाम्रो पुर्खाको योगदानबाट मुलुकले प्राप्त गरेको संविधान, लोकतन्त्र र नागरिक अधिकारलाई बचाउनु सबैको दायित्व हो ।’
शान्ति सुरक्षा बलियो बनाउन नसक्दा मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ । ‘आन्दोलनको नाममा नेपालका सबै सम्पत्तिमा आगजनी र तोडफोड भयो’ उनले भने, ‘मुलुकमै पहिलो पटक ठूलो संख्यामा कारागारबाट ठूलो कैदीहरु भागे, सर्वाेच्च अदालत चल्यो, संसद भवन र सिंहदरबार जल्यो ।’
जेनसी पुस्ताले अगाडि सारेका भ्रष्टाचार र सुशासनका अभियान सकारात्म भएपनि आन्दोलनका क्रममा भएको आगजनी र क्षति मुलुकका लागि क्षयमे नहुने उनको भनाइ छ । ‘परिवर्तनका नाममा गरिने ध्वम्सले कसैलाई फाइदा पुग्दैन’ उनले थपे, ‘केही क्षणलाई राम्रो लाग्ला तर जुन गतिविधिहरु भए त्यसले स्वयम् व्यक्तिहरुलाई पनि लक्ष्यसम्म पु¥याउँदैन ।’ जेनजी पुस्ताका नाममा स्वार्थ समूहका व्यक्तिहरुले आफ्नो इच्छा पूरा हुनेगरी सरकारी र भौतिक सम्पत्तिमा क्षति गरेको उनको भनाइ थियो ।
साथै मुख्यमन्त्री कँडेलले अहिलेको विशेष परिस्थितिलाई सामान्यकरण बनाउन सबैको दायित्व रहेको समेत औल्याए । ‘मुलुकले जुन परिस्थिति भोगिरहेको छ, यसलाई सामान्यकरण गर्न हाम्रो सबैको उत्तिकै भूमिका छ, सरकार प्रमुख भएका नातामा मेरो अल्ली बढी भूमिका रहला’ उनले भने, ‘मुलुकमा शान्ति स्थापना र त्रासपूर्ण वातावरणको अन्त्य गर्न सबै पेशा र व्यवसायका साथीहरुले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्छ ।’
साथै उनले मुलुकको शान्ति व्यवस्था निकै कमजोर बनाइएको प्रति व्यक्त गरे । ‘चाहेको भए सुर्खेतमा एउटा पनि क्षति नहुने स्थिति थियो, तर सिंहदरवार चलेपछि सुरक्षाका साथीहरु पनि पछि हट्नु भयो’ उनले भने, ‘आन्दोलनकारीभन्दा सुरक्षाका साथीहरु बढी हुँदाहुँदै पनि ठूलो क्षति व्यहोर्नु प¥यो । जिम्मेवारी निकायले नै शान्ति सुरक्षालाई कमजोर बनाउने परिपाटीले कसैलाई पनि लाभ नहुने उनको तर्क थियो । यद्यपी सुरक्षाकर्मीलाई चुप लागेर बस्ने वातावरण सिर्जना गर्नु सम्बन्धित व्यक्तिहरुको कमजोरी भएको मुख्यमन्त्री कँडेलको बुझाई छ । ‘आन्दोलनका क्रममा भएको क्षतिलाई म सुरक्षाका साथीहरुलाई मात्र दोश दिँदैन तर हाम्रो सुरक्षा व्यवस्था कस्तो रहेछ भन्ने कुरा सबैलाई हेक्का भयो’ उनले भने, ‘जिम्मेवारीप्राप्त साथीहरुले नै सुरक्षा व्यवस्थालाई कमजोर बनाउने काम गरिएको छ ।’
२४ गतेको जेनजी आन्दोलनले विध्वम्सतर्फ उन्मूख भएपछि मुख्यमन्त्री कँडेल लगायतका नेताहरु सुरक्षाका लागि नेपाली सेनाको ब्यारेकमा पुगेका थिए । चार दिनसम्म सेनाको सुरक्षामा रहेका मुख्यमन्त्री र मन्त्रीहरु आइतबार मात्रै नियमित कामकाजमा फर्किएका छन् । आन्दोलनका क्रममा मुख्यमन्त्री कँडेलको पनि निजी निवासमा आगजनी र तोडफोड भएको थियो । जेनजी आन्दोलनका क्रममा वीरेन्द्रनगरका विभिन्न ३७ वटा निकायमा आगजनी र तोडफोड गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्