
जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नापी कार्यालय ।
सुर्खेत । जेनजीको आन्दोलनपछि कर्णाली प्रदेशसभाको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त छ । कर्मचारीका लागि बस्ने कुर्ची समेत बाँकी छैन । लाखौँ रकम खर्च गरेर निर्माण गरेका प्रदेशसभाको बैठक कक्ष पूर्ण रुपमा खरानी भएको छ । सभामुख, उपसभामुख र विषयगत समितिका कार्यालयहरु, दलका कार्यकक्ष पनि बाँकी छैनन् । कर्मचारीहरुको कार्यालय रहेको प्रदेशसभा सचिवालय पनि पूर्ण रुपमा क्षतिग्रस्त छ । कार्यालयका सबै भौतिक संरचना ध्वस्त भएपछि प्रदेशसभाको आगामी बैठक र समितिका गतिविधि गर्नका लागि अन्य क्षेत्रको खोजी गर्नुपर्ने अवस्था छ । भौतिक संरचनामा क्षति भएकै कारण विषयगत समितिका नियमित बैठक समेत बस्न सकेका छैनन् । ‘आगजनी र तोडफोडबाट प्रदेशसभा सचिवालयका सबै संरचनाहरु खरानी भएका छन्, क्षतिको विवरण पनि संकलन हुन सकेको छैन’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भने, ‘तत्कालका लागि नियममित कामकाज गर्न समेत सम्भव छैन ।’ प्रदेशसभा बैठक हाल स्थगित भएपनि विषयगत समितिका बैठकहरु अनिश्चित पनि आगजनीकै कारण अनिश्चित बनेका छन् ।
त्यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालय पनि पूर्ण रुपमा क्षतिग्रस्त छन् । आगजनीकै कारण कार्यालयका सम्पूर्ण सेवाहरु बन्द छन् । सुर्खेतकै नापी कार्यालय पनि तत्काल सेवा प्रवाह बन्द भएको छैन । नियमित सेवा प्रवाहका अहिलेदेखि सुरु हुन्छ भन्ने निश्चित छैन ।
यता वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ नम्बर कार्यालय कार्यालय आगजनीबाट ध्वस्त पारिएको छ । अहिले यी कार्यालयबाट प्रदान गरिने सेवा ठप्प भएका छन् र यी कार्यालयबाट सेवा कहिलेदेखि प्रदान गर्ने भन्ने कुनै यकिन छैन । ती कार्यालयमा मङ्गलबार आगजनी गरिएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले कार्यालयमा क्षति भएदेखि कुनै पनि सेवा प्रदान गर्न नसकिएको जानकारी दिए। आगजनीबाट नगरपालिकाको कार्यालयका साथै १ नम्बरदेखि १२ नम्बर वडा कार्यालय पनि ध्वस्त भएकाले वडाबाट पनि सेवा प्रदान हुन नसकेको जानकारी बताए। अहिले कार्यालयमा भएको मौखिक क्षति सङ्कलनको काम भइरहेको र प्रहरी आएर थप मुचुल्का लिन नसकिएको उनले बताए । अहिले देशको अवस्थाले गर्दा कहिलेदेखि सेवा सुरु गर्ने भन्ने यकिन छैन । माथिबाट निर्देशन आउनासाथ सेवाग्राहीलाई सेवा दिन सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत बाँस्कोटाले दिए । उनका अनुसार आगजनीबाट के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क अझै तयार गर्न सकिएको छैन । नगरपालिका र वडा कार्यालयका साथै नगरप्रमुख मोहनमाया ढकालको वीरेन्द्रनगर नगरपालिका–१० मा र नगर उपप्रमुख नीलकण्ठ खनालको वीरेन्द्रनगर नगरपालिका–४ मा भएको घरमा पनि आगजनी भएको छ ।
उता वीरेन्द्रनगर नगरपालिका–४ वडा कार्यालयमा आगजनी गरेपछि वडाबाट दिने सेवा बन्द भएको छ । वडाध्यक्ष शेरबहादुर केसीले वडा कार्यालय अहिले सेवा दिन अवस्थामा नरहेको बताए । उनले आगजनीबाट कागजातसहित उपकरण जलेको हुँदा पूर्ववत् अवस्थामा आउन केही समय लाग्ने जानकारी दिए । उनले पनि क्षतिको मुचुल्का उठाउने तयारी भइरहेको बताए । यस्तै आगजनीबाट क्षति पुगेको नापी कार्यालयमा पनि आगोबाट जलेका सामान सङ्कलन गर्ने काम भइरहेको छ । कर्मचारीले कार्यालय सफाइका साथै जलेका र नजलेका कागजात सङ्कलन गर्ने काम गरिरहेका छन् ।
आगजनीबाट कर्णाली प्रदेश सभा, मुख्यमन्त्री निवास, मुख्यमन्त्रीको निजी घर, प्रदेश लेखा नियन्त्रण कार्यालयलगायतलाई पनि निसाना बनाई आगजनी गरेर पूर्ण रूपमा ध्वस्त गराइएको छ । त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, कांग्रेस उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्का, प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्मर खड्का, माया पेट्रोल पम्पमा पनि तोडफोड गरिनुका साथै आगजनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्