२०८३ वैशाख ५ , शनिबार

भोलिदेखि वीरेन्द्रनगरका विद्यालय खुल्ने



सुर्खेत । जेनजीको आन्दोलनका कारण बन्द भएका वीरेन्द्रनगरका विद्यालय भोलि (आइतबार)देखि खुल्ने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले विशेष परिस्थितिका कारण बन्द भएका सामुदायिक र संस्थागत विद्यालय खोल्ने निर्णय गरेको हो । शनिबार नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबारदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने जानकारी गराएको हो । ‘पछिल्लो समयको विद्यमान परिस्थितिमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा केही दिनदेखि पठनपाठन बन्द हुँदै आएकोमा क्रमशः परिस्थिति सामान्य बनिरहेको सन्दर्भमा २०८२ भदौ २९ गतेदेखि विद्यालयहरू सुचारू रूपमा सञ्चालन गरी पठन–पाठन गर्न गराउन आदेश अनुसार यसै सूचना मार्फत जानकारी गराइन्छ’ नगरपालिकाका वरिष्ठ उपसचिव धिरेन्द्रप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
उसो त अब हप्तादिन मात्रै विद्यालयहरु सञ्चालन हुने छन् । नेपालीहरुको महान पर्व वडा दशै नजिकिएका कारण अब हप्तादिन मात्रै विद्यालय सञ्चालन हुने छ । यस वर्षको वडा दशै असोज ६ गतेदेखि सुरु हुने छ । दश दिनसम्म मनाइने वडा दशैको पहिलो दिन असोज ६ गते घटस्थापना परेको छ । दशै र तिहार जस्ता ठूला चाड पर्वमा विद्यालयहरु बन्द हुने गरेका छन् ।

सूचना पढ्नुहाेस् ।

आइतबारदेखि वीरेन्द्रनगरका सामुदायिक र संस्थागत विद्यालयहरु सञ्चालन गर्नका लागि नगरपालिकाको जारी गरेको सूचना ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार