
सुर्खेत । गएको २३ र २४ गते जेनजीको आन्दोलका क्रममा सुर्खेतमा भएको क्षतिको विवरण संकलन गर्न समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णप्रसाद खरेलको नेतृत्वमा ‘क्षति विपरण संकलन समिति’ समिति गठन गरिएको हो । ११ सदस्यीय समितिले आन्दोलनका क्रममा भएको क्षतिको एकीन विवरण संकलन गर्ने जनाएको छ । शुक्रबार गठन भएको समितिले सोही दिन सुर्खेतका सरकारी कार्यालयको अनुगमन गरेको छ ।
क्षतिको प्रारम्भीक अवस्था बुझ्नका लागि स्थलगत अनुगमन गरेको हो । यद्यपी सबै विरण संकलनको औपचारिक सुरुवात आइतबारदेखि मात्र हुने छ । क्षति भएका कार्यालयमा सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिको नेतृत्वमा क्षतिको विवरण संकलन गरिने छ ।
जेनजी पुस्ताले थालेको आन्दोलनका क्रममा २४ गते सुर्खेतका विभिन्न सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । आन्दोलनकारीले कर्णाली प्रदेशसभा सचिवालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, नापी कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगरका विभिन्न १२ वटा वडा कार्यालयहरुमा आगजनी र तोडफोड गरेको थियो । त्यस्तै नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरुमा पनि आगजनी र तोडफोड गरेर ध्वस्त पारिएको छ ।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल, उपमेयर निलकण्ड खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइद्वय डम्मर खड्का र विष्णु खड्काको घरमा र पेट्रोल पम्पमा पनि आगजनी र तोडफोड गरिएको छ । आगजनी र तोडफोडबाट सरकारी र व्यक्तिको सम्पत्तिमा अर्बाैको क्षति भएको छ । यद्यपी के कति क्षति भएको हो भन्ने विषयमा एकीन विवरण आउन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्