२०८३ भदौ ३० , मंगलबार
कर्णालीमा राेजगारीकाे अवसर

प्रदेश लोक सेवा आयोगले माग्याे कर्मचारी



सुर्खेत । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले स्थानीय सेवा अन्तर्गत विभिन्न प्राविधिक तथा अप्राविधिक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को व्यवस्था बमोजिम खुला, अन्तर तह तथा आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न आयोगले मङ्गलवार औपचारिक विज्ञापन प्रकाशित गरेको हो।

आयोगले सार्वजनिक गरेको सूचना अनुसार नवौँ तहतर्फ इन्जिनियरिङ सेवाका सिनियर डिभिजनल इन्जिनियर र शिक्षा प्रशासनतर्फ उपसचिव पदका लागि आवेदन माग गरिएको छ। यसै गरी, आठौँ तह अन्तर्गत मेडिकल अधिकृत पदमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको छ भने सातौँ तहतर्फ वरिष्ठ लेखा अधिकृत, इन्जिनियर, कृषि विकास अधिकृत, पशु विकास अधिकृत, पशु चिकित्सक, वरिष्ठ शिक्षा अधिकृत र जनस्वास्थ्य अधिकृत जस्ता विभिन्न महत्वपूर्ण पदहरूमा विज्ञापन खुलाइएको छ।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत फाराम भर्न सक्ने सूचनामा उल्लेख छ। दरखास्त पेस गर्ने प्रक्रिया, परीक्षाको किसिम, दस्तुर तथा अन्य आवश्यक सर्तहरूबारे विस्तृत जानकारी आयोगको वेबसाइट मार्फत हेर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार