२०८३ भदौ ३० , मंगलबार
सीमा सुरक्षा

ताक्लाकोटमा नेपाल–चीन सीमा सुरक्षा छलफल



हुम्ला । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा जिल्लाका उच्च सुरक्षा अधिकारी तथा जनप्रतिनिधिसहितको टोली चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको छ। हिल्सा नाका नजिकै पर्ने ताक्लाकोटमा आयोजना गरिएको नेपाल–चीन सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल स्थलमार्ग हुँदै त्यसतर्फ गएको हो।

चीनको पुराङ काउन्टीको स्थानीय प्रशासनबाट प्राप्त निमन्त्रणाका आधारमा ताक्लाकोट पुगेको टोलीमा प्रमुख जिल्ला अधिकारी गुरागाईँसहित सशस्त्र प्रहरी बलका डिएसपी नन्दबहादुर साउद, नेपाल प्रहरीका डिएसपी शङ्कर खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख मेघराज कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन्। टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, नारा लेक र हिल्सा नाका हुँदै स्थलमार्गबाटै ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिएका छन्।

आयोजित अनौपचारिक बैठकमा सीमा क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, द्विपक्षीय व्यापार सहजीकरण तथा हुम्लाका स्थानीयवासीका लागि कैलाश मानसरोवर यात्रा सहज बनाउने एजेन्डामा मुख्य रूपमा छलफल हुनेछ। दुवै देशबिच नियमित रूपमा सीमा सुरक्षा बैठक आयोजना गर्ने, आपसी समन्वय र सहकार्य बढाउने तथा सम्भावित विपद् जोखिम व्यवस्थापनमा सूचना आदानप्रदान गर्नेबारे समेत कुराकानी हुने जनाइएको छ। यसै बैठकका क्रममा हुम्लाको नाम्खा गाउँपालिका र चीनको पुराङ काउन्टीबिच भगिनी सम्बन्ध कायम गर्नेसम्बन्धी विशेष प्रस्तावमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताएका छन्।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार