
सुर्खेत । नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयको आँगना सरसफाई गरिएको छ । प्रहरी÷प्रशासनले मुचुल्का बनाएपछि मात्रै कार्यालयमा भने सरसफाई गरिने छ । सोही कारण एमाले कार्यकर्ताहरुले शुक्रबार विहान पार्टी कार्यालयको बाहिरी भाग र आँगन सरसफाई गरेको हुन् । राष्ट्रिय युवा संघका आबद्ध युवाहरु र जिल्लास्तरिय नेता कार्यकर्ताले संयुक्त रुपमा पार्टी कार्यालय सरसफाई गरेका हुन् ।
जेनजी पुस्ताले थालेको आन्दोलनका क्रममा एमाले पार्टी कार्यालय जलाइएको थियो । पार्टी कार्यालय चलेर ध्वस्त भएको ३ दिनपछि कार्यकर्ताहरुले कार्यालयमा सरसफाइ गरेका हुन् । आगलागीबाट पार्टी कार्यालयका सामग्रीहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । भवनमा पनि आंशिक रुपमा क्षति पुगेको छ । कार्यालयमा रहेको शोफासेट, कुर्ची, टेबुल लगायतका अध्यावश्यक सामग्रीहरु जलेर नष्ट भएका छन् ।
पार्टी कार्यालयमा आगो लगाएपछि पार्टीका कुनै पनि कार्यकर्ताहरुले निभाउन आएका थिएनन् । आगो निभाउन जाँदा आक्रोषित आन्दोलनकारीका कारण अप्रिय घटना हुनसक्ने देखेपछि आगो निभाउन कुनै पनि व्यक्ति आउन सक्ने अवस्था थिएन् । जेनजीेको आन्दोलन उग्र बनेपछि एमालेसहित नेपाली काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चा पार्टी कार्यालयमा पनि आगजनी भएको थियो ।
आन्दोलनकारीले सुर्खेतस्थित कर्णाली प्रदेशसभा, प्रदेश लेखा नियन्त्रकको कार्यालय, मुख्यमन्त्रीको सरकारीसहित निजी निवास, वीरेन्द्रनगर नगरपालिका र विभिन्न वडा कार्यालयहरु, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतका भौतिक संरचनामा आगजनी गरेका थिए । आगजनीबाट सुर्खेतमा मात्रै अर्बाैको क्षति भएको छ । तर आन्दोलनपछि उत्पन्न विसम परिस्थितिका कारण क्षतिको एकीन विवरण संकलन हुन सकेको छैन ।
सुर्खेतमा शान्ति सुरक्षालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातीमा कफ्र्यू र दिनमा निषेधाज्ञा लगाउँदै आएको छ । जसका कारण सुर्खेतको जनजीवन सामान्य अवस्थामा फर्किन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्