
सुर्खेत । मानवीय सेवामा सक्रिय रहेको नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा पछिल्लो समय रप्तारमा अगाडि बढेको छ । आधारभूत स्वास्थ्य र प्राथमिक उपचारमा सदैभ अग्रणी भूमिका खेल्दै आएको भैरवस्थान उपशाखाले पछिल्लो दुई दिनमै पाँच सय नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
भैरवस्थान उपशाखाको शनिबार वीरेन्द्रनगर–४ को भैरवस्थान र आइतबार वीरेन्द्रनगर–१ को धारापानीमा आँखा तथा कान उपचार शिविर सञ्चालन गरेको छ । दुई वटा शिविरबाट झण्डै पाँचसय नागरिकले सेवा लिएको नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखाका सभापति किरण किशोर सापकोटले जानकारी दिए ।

भैरवस्थानको शिविर सेवा लिन आएका मध्ये १५ जना र धारापानीको शिविरबाट सेवा लिएका मध्ये २५ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । आँखाको मोतिया बिन्दु समस्या देखिएकाहरुलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरिने सभापति सापकोटाले जानकारी दिए । त्यस्तै कानको समस्या भएर शिविरमा आएकाहरु मध्ये अप्रेशन गर्नुपर्ने विरामीलाई भने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंजमा सहुलियतमा उपचारको व्यवस्था मिलाइएको छ ।
निःशुल्क रुपमा उपचार पाएपछि स्थानीयहरु खुशी भएका छन् । भैरवस्थान उपशाखाले रुइत फाउण्डेशन, काठमाण्डौंको आर्थिक एवम नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंजको संयुक्त प्राविधिक सहयोगमा शिविर गरेको हो ।

भैरवस्थानको शिविरको समन्वय वीरेन्द्रनगर ४ को वडा कार्यालय र चिसापानी शिविरको वीरेन्द्रनगर–१ को वडा कार्यालयको समन्वयमा भएको हो । भैरवस्थानमा भएको शिविरमा वीरेन्द्रनगर–४ वडाध्यक्ष शेरबहादुर केसी र चिसापानी शिविरमा वीरेन्द्रनगरका १ का वडाध्यक्ष दिनेश खत्रीको प्रमुख आथितिको रुपमा सहभागी थिए । वीरेन्द्रनगर–१ को धारापानी आधारभूत विद्यालय र वीरेन्द्रनगर ४ को हिमाली पुस्तकालयको भवनमा शिवर सम्पन्न भएको हो । दुबै शिविर नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखाका सभापति किरण किशोर सापकोटको सभापतित्वमा सम्पन्न भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्