
सुर्खेत । जिल्ला प्रशासन कार्यालय दैलेखले तीन जना उत्कृष्ट कार्यालय प्रमुख प्रमुखलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जिल्ला कारागार दैलेखका जेलर लिलु गिरी, खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्ल, दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विक छन् । उनीहरुमध्ये गिरीलाई संघीय, मल्ललाई प्रदेश र विकलाई स्थानीय तहमा रहेर उत्कष्ट कार्य सम्पादन गरेवाफत सम्मान गरिएको हो ।
आइतबार निजामती दिवसका अवसर पारेर उनीहरुलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको संयोजकत्मा गठित समितिले उत्कृष्ट कार्यालय प्रमुख छनोट गरेको हो । गत वर्षको वार्षिक प्रगति, बेरुजु फछ्र्याेट, कार्यालयको व्यवस्थापन, दरबन्दी अनुसारको कार्यालय व्यवस्थापन, कार्यालय प्रमुख र कर्मचारीको नियमितता, सूचना अधिकारी, गुनासो सुनाइ अधिकारी लगायतका मापदण्डका आधारमा उत्कृष्ट कार्यालय प्रमुख छनौट गरिउको हो ।
त्यस्तै सार्वजनिक सेवा प्रवाह, नागरिक बडापत्र, जिन्सी व्यवस्थापन, नियमित कर्मचारी बैठक, बिचौलियारहित सेवा प्रवाहका लागि भएका प्रयास, समन्वय, सहकार्य र आफ्नै प्रयासमा गरेका विभिन्न कुरालाई राखेर उत्कृष्ट कार्यालय प्रमुख छनोटको आधार मानिएको छ । निजामती सेवा दिवस २०८२ का संयोजक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विकास, सुशासन, पारदर्शीतालाई प्रमुखता दिएर निजामती कर्मचारीले सेवा प्रवाह दिनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्