२०८३ वैशाख ५ , शनिबार

जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा सकेट बम फेला



सुर्खेत । जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा सकेट बम फेला परेको छ । शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका हुन् । समितिका प्रमुख गौरीनन्द आचार्यले सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको बताए । उनले भने, ‘बम खिया लागेको अवस्थामा छ । मोटो जीआई पाइपबाट बनेको जस्तो देखिन्छ ।’

बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ । बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेका छन् । ’सेना बम डिस्पोज गर्न माथिको आदेश पर्खेर बसेको छ, ‘ प्रमुख आचार्यले भने, ‘आदेश आउनेबित्तिकै बम डिस्पोज गर्ने तयारी सेनाले गरेको छ ।’ समितिको सानो हलको पछाडिपट्टि बम फेला परेको हो । कार्यालय खुले पनि काम गर्ने अवस्था नरहेको प्रमुख आचार्यले बताए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बम डिस्पोज गर्न सेनाको टोली बम भेटिएको स्थानमा पुगिसकेको बताए ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार