
सुर्खेत । दैलेखको जलजले क्षेत्रमा रहेको ग्यास उत्खनन्का लागि लाग्ने आर्थिक र प्राविधिक पक्षको मूल्याङ्कन प्रक्रिया सुरु भएको । नेपाल आयल निगमको इन्जिनियरिङ परियोजनाले ग्यासको परीक्षण उत्पादन, प्रशोधन प्रक्रिया, ढुवानी र उपयोगका विषयमा आर्थिक तथा प्राविधिक पक्षको मूल्याङ्कन सुरु गरेको हो ।
आर्थिक र प्राविधिक विषयको अध्ययन गर्न नेपाल आयल निगमको इन्जिनियरिङ परियोजना विभागका निर्देशक विनितमणि उपाध्यायको नेतृत्वको प्राविधिक टोली दैलेख पुगेर स्थलगत अध्ययन सुरु गरेको हो । समितिले ग्यासको परीक्षण उत्पादन, प्रशोधन प्रक्रिया, ढुवानी र उपयोगका विषयमा आर्थिक तथा प्राविधिक पक्षको मूल्याङ्कनसहितको प्रतिवेदन एक महिनाभित्र बुझाउने छ ।
समितिका सदस्य तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार परीक्षण उत्पादनपछि ग्यासलाई मल कारखाना तथा अन्य उद्योगहरूमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन अध्ययन भइरहेको बताए । “चीनको जिओलोजिकल सर्भेले प्रारम्भिक रुपमा जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रतिवेदन दिएको छ । यद्यपि, अन्तिम प्रतिवेदन आउनुअघि नै पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक तयारी गरिँदैछ,’ उनले भने ।
ग्यास उत्खनन र प्रशोधनका लागि विस्तृत योजना तयार पार्नुपर्ने भएकाले स्थलगत अध्ययनलाई प्राथमिकता दिइएको जनाइएको छ । अन्तिम प्रतिवेदन प्राप्त भएलगत्तै विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी प्रणाली र वितरण मोडेल तय गरी कार्यान्वयन सुरु गरिनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गठित प्राविधिक समितिमा खानी तथा भूगर्भ विभागका जिओलोजिस्ट धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका मनिष कर्ण, नेपाल आयल निगमका केमिकल इन्जिनियर दीप्ति पौड्याल र मेकानिकल इन्जिनियर भक्त भण्डारी समेत रहेका छन् । पेट्रोलियम अन्वेषण परियोजनाका अनुसार चीनसँग हाल अन्वेषणमा भइरहेको सहकार्यलाई उत्पादन तहमा पनि आर्थिक तथा प्राविधिक साझेदारीमा विस्तार गर्न आग्रह गरिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार सरकारले पठाएको प्रस्तावको जवाफ चीनबाट आउन बाँकी छ । चिनियाँ सरकारी कम्पनीले गरेको प्रारम्भिक अध्ययनपछि नेपाल सरकारले मिथेन ग्यास परीक्षण उत्पादनका लागि गम्भीर तयारी थालेको हो ।
प्रतिक्रिया दिनुहोस्