२०८३ वैशाख ५ , शनिबार
अदालतमा पुग्यो पर्खालको विषय

कानुन व्यवसायी र विद्यार्थी दिए उच्च अदालतमा रिट



पर्खाल लगाउने योजनाबिरुद्ध अभिवक्त र विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा दिएको रिट निवेदन

सुर्खेत । ९ फिट अग्ला पर्खाल लगाएर सरकारी कार्यालयहरु घेराबन्दी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय बिरुद्ध उच्च अदालत सुर्खेतमा रिट दाय भएको छ । मध्यपश्चिम विश्वविद्यालयका कानुन अध्ययनरत विद्यार्थीहरु गोपालबहादुर ऐडी तथा दिपक बुढाथोकी र अधिवक्ता प्रकाशबाबु ऐडीले अन्तरिम आदेशसहितको उत्प्रेषण परमादेश माग गर्दै बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उपत्यका नगर विकास समितिलाई विपक्षी बनाएर दिइएको निवेदनमा नागरिकको दैनिक जीवनमा बाधा पुग्ने गरेर लगाउन लगाइएको पर्खालका काम र हालसम्म भएका निर्णयहरु नगर्नु–नगराउनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
कर्णाली प्रदेश सरकारले सरकारी कार्यालयको सुरक्षाका लागि भन्दै साढे दुई किलोमिटर लामो पर्खाल लगाउने निर्णयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । प्रदेश सरकारले ३९ करोडबढीको लागतमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने वडा कार्यालयदेखि विभिन्न सरकारी तथा सार्वजनिक क्षेत्रमा पर्खाल लगाउन बोलपत्र आव्हान गरेपछि त्यसको सर्वस्त्र विरोध सुरु भएको छ ।
‘गौरवको आयोजनाका नाममा नागरिकको आवागमन अवरोध गरी सेवाग्राहीलाई सास्ती हुने गरी सरकारी कार्यालय क्षेत्रमा पर्खाल लगाउने निर्णय गरी असार २७ गते प्रकाशित बोलपत्र आव्हानको सुचना उत्प्रेषणको आदेशले बदर गरी नागरिकको दैनिक आवागमनमा बाधा पुग्ने किसिमको उक्त पर्खाल लगाउने कार्य नगराउन हुन भनि परमादेशको आदेश जारी गरिपाउँ,’ निवेदनमा भनिएको छ, ‘तत्काल उक्त कार्य नरोकेमा सेवा लिन जाने सेवाग्राहीको सेवा तथा नागरिकको दैनिक आवागमन कठिनाई हुने र नागरिकको करबाट संकलित ठूलो धनराशी दुरुपयोग हुनुका साथै गुरुयोजनाविपरितको कार्य हुने भएकाले निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि अन्तरिम आदेशसमेत जारी गरिपाउँ ।’
निवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालयहरुका लागि एकीकृत भवन बनाउन तीन अर्बको ठेक्का भएर काम अघि बढिसकेको अवस्थामा वडा कार्यालय, प्रहरी–प्रशासनदेखि जनता प्रत्यक्ष जोडिएका कार्यालय र आम नागरिक, विद्यार्थीहरु हिँडडुल गर्ने सडकसमेत बन्द गर्न लागिएको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले उच्च अदालतको दक्षिणतर्फ तीन अर्बको लागतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय बनाउँदैछ । एकीकृत भवनलाई घेर्नका लागि पनि छुट्टै पर्खाल छ । प्रदेश सरकारले अहिले लगाउन लागेको पर्खालभित्र वीरेन्द्रनगर नगरपालिका–७ को वडा कार्यालय, उच्च र जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, प्रहरी गण, नापी तथा मालपोत कार्यालय, नेपाल टेलिकम, विद्युत प्राधिकरण, खानेपानी कार्यालय, लोकसेवा आयोग, डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, केही सरकारी आवासलगायतका जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरु हुनेछन् ।


पर्खाल लगाउँदा गुरुयोजना अनुसार सञ्चालनमा रहेका अधिकांश सडकहरु बन्द हुन्छन् भने साढे दुई किलोमिटर लामो पर्खालमा चार वटा मात्रै गेटहरु रहनेछन् । ‘अहिले पनि सबै सरकारी कार्यालयहरुका आ–आफ्नै पर्खालहरु छन्,’ रिट निवेदनमा भनिएको छ, ‘जनतालाई दुःख दिन र नागरिकबाट संकलन गरिएको करको दुरुपायोग रोक्नु आवश्यक छ ।’
प्रदेश सरकार स्थापनाकालदेखि नै सिंहदरवार (एकीकृत प्रशासनिक भवन) बनाउने योजना छ । सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगाडि आफ्नो प्रशासनिक भवन बनाउँदै छ । सिंहदरबारको परिकल्पना हँदा सरकारी कार्यालयहरु घेरबार गरेर पर्खाल लगाउने योजना थिएन । तर २०८१ साउन २३ गतेको मन्त्रीपरिषद्को बैठकले प्रदेश राजधानीको शहरी सौन्दर्यकरण र सरकारी सम्पत्तिको संरक्षण गर्न भन्दै सबै सरकारी कार्यालयहरुलाई घेरबार गर्ने योजना बनाएको हो ।
यही निर्णय कार्यान्वयका लागि भौतिक पूर्वाधार विकास निर्देशनालयले असार २७ गते सूचना प्रकाशित गरी पर्खाल निर्माण प्रक्रिया अघि बढाइएको छ । सरकारले यो कार्यक्रमलाई ‘प्रदेश गौरव’ योजनामा समावेश गरेको छ । पर्खालको योजना निर्माणका लागि हाल ३२ वटा निर्माण कम्पनीहरुले ठेक्का प्रक्रियामा सहभागी भएका छन् । ठेक्का प्रक्रियामा गएका कम्पनीमध्ये अधिकाँश जेभी ९दुइ वा दुई भन्दा बढी कम्पनीहरुले संयुक्त रुपमा ठेक्का लिने प्रक्रिया०मा गएका छन् । यही कारण ठेक्का प्रक्रियाको अन्तिम टुंगो लाग्न झण्डै चार महिना लाग्ने छ ।
सरकारले घण्टाघर माथिल्लो चोक, इत्राम स्कुल चोक, यातायात चोक र खारखोली पुल नजिक १५ मिटर अग्ला गेट निर्माण गर्ने जनाएको छ । तीमध्ये घण्टाघरको मुख्य गेट कांक्रेविहारको शैलीमा र अन्य गेट घरको धुरी आकारमा बनाउने योजना छ । ९ फिड अग्ला पर्खाल निर्माण दुई वर्षभित्र सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता हुने भौतिक पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी विरेन्द्रजंग शाहीले जानकारी दिए ।
यदि सरकारले सरकारी कार्यालयमा पर्खाल लगाउँदा नागरिकले सेवा लिन सहज हुने छैन । यसरी पर्खाल लगाउँदा सबै मन्त्रालय, प्रदेशसभा, जिल्ला प्रशासन, प्रहरी, मालपोत, खानेपानी, विद्युत, अस्पताल, अदालत र वडा कार्यालयमा जान एउटा गेटबाट अनुमति लिनुपर्ने छ । अनुमति लिएर गेटभित्र छिरेपनि सम्बन्धित कार्यालय पुग्न अहिलेको जस्तो सहज हुने छैन अर्थात घुरेर कार्यालय पुग्नुपर्ने छ । सोही कारण चौतर्फी विरोध भएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार