सुर्खेत । कर्णाली प्रदेशमा यस वर्षको संविधान दिवस भव्य, अनुशासित र जनसहभागितामूलक ढङ्गले मनाइने भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको संयोजकत्वमा ‘संविधान दिवस समारोह समिति, २०८३’ गठन गर्दै विविध रचनात्मक तथा सचेतनामूलक कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसलाई व्यवस्थित बनाउन सरकारी निकाय, सुरक्षा निकाय, शिक्षण संस्था, सहकारी एवं नागरिक समाजलाई क्षेत्रगत जिम्मेवारी समेत सुम्पिएको छ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार असोज २ गते मुख्यमन्त्री कार्यालयसहित प्रदेशका सम्पूर्ण मन्त्रालय र सरकारी निकाय परिसरमा बृहत् सरसफाइ गरिनेछ। सोही दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वृक्षारोपण कार्यक्रम आयोजना हुनेछ। दिवसको मुख्य दिन असोज ३ गते बिहान ७:०० बजे निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, सहकारी प्रतिनिधि, राजनीतिक दल र सर्वसाधारण मङ्गलगढी चोकमा भेला भई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्ड टोलीसहित प्रभातफेरी सुरु हुनेछ। उक्त र्याली वीरेन्द्रनगरका विभिन्न भाग परिक्रमा गरी मूल समारोहमा परिणत हुनेछ।
असोज ३ गते साँझ ५:३० बजे सुर्खेतस्थित घण्टाघर प्राङ्गणमा वीरेन्द्रनगर नगरपालिकाको व्यवस्थापनमा भव्य दीप प्रज्वलन गरिनेछ। यस्तै, असोज ४ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिनुका साथै विभिन्न सञ्चार माध्यमहरूबाट संविधानका विविध सबल र व्यावहारिक पक्षबारे अन्तरक्रिया तथा संवाद कार्यक्रमहरू सञ्चालन गरिनेछ।
मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशका सबै १० जिल्लामा दिवसका अवसरमा स्थानीय स्तरमा भव्य कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। साथै सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सर्वसाधारणलाई दिवसका कार्यक्रममा स्वतःस्फूर्त तथा सक्रिय उपस्थिति गराउन जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय निकायहरूलाई आवश्यक समन्वयका लागि आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्